संसद्को हिउँदे अधिवेशनको प्रारम्भको सम्बोधनमा दलका नेताहरूले एक–अर्कालाई घोचपेच गरेका छन् । एक वर्षयता कानुन निर्माणमा उल्लेख्य प्रगति गर्न नसकेको स्वीकार गरेका दलहरूले त्यसको दोष एक–अर्कालाई लगाउनुका साथै सुशासन र विकास निर्माणका विषयमा पनि सवालजवाफमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा र रास्वपा सभापति रवि लामिछानेबीच जुहारी नै चल्यो । खासगरी सुशासनको सवालमा बोल्दा थापाले सहकारी ठग र ठगका मतियारलाई कुनै उन्मुक्ति दिन नहुने भनेर लामिछानेलाई कटाक्ष गरेपछि आफ्नो पालोमा आधाभन्दा बढी समय लामिछानेले जवाफ फर्काउनमै खर्चिए । अरूमाथि औँला उठाउँदा आफ्नै पार्टीभित्र हेर्न चुनौती दिए ।
रविमाथि प्रश्न
थापाले सुशासनमा सरकारले स्टन्टबाजी गरिरहेको भन्दै सरकारी जग्गा हडप्ने र सहकारी ठगी गर्ने तथा ठगीको मतियारलाई उन्मुक्ति नदिन माग गरे । सरकारी जग्गा हडप्ने र सहकारी ठगी प्रकरण कानुनी कारबाहीको दायरामा नआएको भन्दै उनले नाम नलिइकनै विनोद चौधरी र रवि लामिछानेको पनि आलोचना गरे । ‘नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने दण्ड–सजाय पाउनुपर्दैन ? जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, जुनसुकै पदमा बसेको होस्, हातमा तागत होस् वा कलम होस्, नागरिकता बनाउन किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारण किर्ते गरेको छ, किर्ते माफी हुन्छ, चल्छ, जतिसुकै शक्तिशाली होस्, ताकत भएको होस्, आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनुपर्दैन ? कानुनले कारबाही गर्नुपर्दैन ?’ उनले सोधे ।
रविको जवाफ
रास्वपा सभापति रवि लामिछानेले सत्तारूढ दलका नेताको सम्बोधनमा सबै कुरा थाहा भएको भन्ने आएको भन्दै नगरेको किन भनेर प्रश्न गरे । ‘सबै इतिवृत्ति थाहा रहेछ भने नगरेको किन ? रोकेको कसले ? हामी नयाँ दलले रोकेको हो त ? यदिले नयाँले रोकेको हो भने कहाँनेर रोक्यो ? त्यो पनि जानकारी पाऊँ,’ उनले भने । वर्षाैँदेखि चलिआएको संसद्लाई आरोप, छेडखानी, घेचपेचको ठाउँ बनाउनुभन्दा अलि फरक ढंगले जान उनले अपिल गरे । ‘यदि घोचपेच र ज्ञान बाँड्ने थलो बनाउने हो भने सुरुवात आफ्नै दलबाट गर्दा सजिलो हुन्छ, आफ्नै दलतिर फर्केर हेर्दा हुन्छ होला,’ उनले जवाफ फर्काए ।
नयाँ दलतिर औँला ठड्याउने हो भने आफूहरूले अनुसरण गरेका सुधारका कदम पछ्याएर आउन उनले चुनौती दिए । ‘नयाँ दलतिर हेर्न खोजेको हो भने नयाँ दल त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो, पुराना दलले एकपटक आफ्नो दलभित्र चिहाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मानिस अझै पनि दलमा पदाधिकारीका रूपमा रहन्छन् । सरकारी जग्गा किर्ते गर्ने मान्छे आफ्नै दलको वरपर छन् कि, तिनलाई पार्टीबाट कारबाही गरेर सुशासनको नयाँ उदाहरण पो दिने हो कि, नागरिकता किर्ते गर्नेलाई कारबाहीको दायरामा ल्याउने हो कि, सहकारीका ठगलाई कारबाहीको दायरामा ल्याउने हो कि ?’ उनले सोधे ।
कांग्रेस महामन्त्री थापालाई जवाफ फर्काउने क्रममा लामिछानेले चुनाव हारेका मान्छे (कृष्ण सिटौला)लाई अर्काे बाटोबाट राष्ट्रिय सभामा लैजान अगुवाइ गरेको पनि देखेको भन्दै आलोचना गरे । ‘अधिकार प्राप्त निकायले बयान लिन बोलाएको भन्ने सुन्छु, जानका लागि साधन नभएको सम्पर्क गर्दा पु¥याइदिन्थ्यौँ, त्यहाँ नपु¥याएको पनि देख्छु, अनि सदनबाट सुशासनको कुरा, छेडखानीको कुरा अब नगरौँ । यो गरिरहँदा लामो शृंखला चलिरहन्छ । मिडिया मेट्रियल बन्ने कि, ल मेकर बन्ने यहाँहरूको चाहना, हामी ल मेकर बन्न उपस्थित भएका छौँ,’ उनले भने ।