कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। सरकार गठनको चार महिनापछि कोशी सरकारले पूर्णता पाएको हो। ६ मन्त्रीहरूको नियुक्तिपछि पनि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्दै मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
शुक्रबार मुख्यमन्त्री कार्कीले ६ मन्त्रीको नियुक्त गरेका छन्। योसँगै नौ मन्त्रालय रहेको कोशीमा १० सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। आज नियुक्त भएका मन्त्रीहरूमा गठबन्धनको सबैभन्दा ठूलो पार्टी कांग्रेसबाट दुई राज्यमन्त्रीसहित चारजना र गठबन्धनकै अर्को दल माओवादी केन्द्रबाट दुईजना मन्त्री नियुक्त भएका छन्। पार्टीमा विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने कांग्रेस सांसद शमशेर राई, रामकुमार खत्री, सुनिताकुमारी गुरुङ र इन्दिरा थापा मन्त्री बनेका छन्।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका अनुसार कांग्रेसबाट प्रदीपकुमार सुनुवारले स्वास्थ्य, रामकुमार खत्रीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। साथै आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङलाई नियुक्त गरिएको छ।
यस्तै माओवादी केन्द्रबाट नारायण बुर्जामगर र राजेन्द्र कार्कीलाई नियुक्त गरिएको छ। बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।