काठमाडौं, सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले मंगलबार बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुनेछन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ(आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन् । र, यसैको सिलसिला अन्तरगत मंगलबार समानान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
कुल ४४१ सदस्यीय केन्द्रीय समितिमा दुईतिहाई बहुमत रहेको दाबी गर्दै आएको प्रचण्ड(माधव नेपाल समूहले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा भंग गरेलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित स्थायी कमिटीको बैठक बालुवाटारमै राखेका थिए । अध्यक्ष ओली र उनी पक्षीय नेताहरु अनुपस्थित भएको त्यो बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री अनुशासनको कारबाही गर्ने प्रस्ताव अघि सार्दै पुस ७ गते दिउँसो १ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको हो ।
नेताहरुका अनुसार भोलि मंगलबार दुबै पक्षको केन्द्रीय कमिटीले फुटलाई औपचारिकता दिनेछन् । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद फुटतर्फ उन्मुख भएको हो । नेताहरुका अनुसार कुनै उथलपुथल नभए भोलि ओली र प्रचण्ड(माधवकुमार नेपाल पक्षले एकअर्कालाई कारबाही गरेर पार्टी विभाजनलाई औपचारिकता दिने सम्भावना छ ।
माधव नेपाल र प्रचण्ड समूहले केन्द्रीय कमिटीको बैठक आयोजना गरेको खबर पाएपछि ओली पक्षले त्यसअघि नै मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रचण्ड( माधव पक्षले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको भेला, संसद भवन परिसरमै बोलाएको थियो । बानेश्वरमा भएको भेलामा प्रतिनिधिसभामा रहेका नेकपाका बहुमत (१७४ मध्ये ९०) सांसद उपस्थित भए । राष्ट्रियसभाका ५० मध्ये २४ सांसद उपस्थित भएर संसद विघटनको विपक्षमा हस्ताक्षर गरेका छन् ।
उता प्रचण्ड र माधव नेपाललाई काउन्टर दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार बिहान ९ बजे नै बालुवाटारमा आफूनिकट सांसदहरुको भेला गरे । र, प्रतिनिधिसभा विघटनको बचाउ गरे । साथै उनले मंगलबार विहान ९ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरे ।
आ आफ्नै तयारी
दुबै पक्षको तयारी हेर्दा सत्तारुढ नेकपामा फुटले मंगलबार औपचारिक पाउने निश्चित जस्तै देखिन्छ । यद्यपि प्रचण्ड(माधव नेपाल पक्षले आफूहरुले फुटको घोषणा नगर्ने बताएको छ । ‘अनुशासन उल्लंघनमा अध्यक्ष ओलीमाथि कारबाही गर्ने प्रस्ताव छ, तर हामीले पार्टी फुट भन्ने पक्षमा छैनौं’ नाम उल्लेख नगर्ने शर्तर्मा एक नेता भन्छन्, ‘बहुमत केन्द्रीय सदस्य हामीसँग नै छ, हामी नै आधिकारिक रहन्छौं ।’
बहुमत केन्द्रीय सदस्यको साथ पाएको प्रचण्ड(माधव नेपाल पक्षको पनि आफ्नै तयारी छ । भोलिको केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्तावमाथि छलफल गरेर ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।
कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकलाई अबैध भनेका ओलीले सम्भवत मंगलबार केन्द्रीय कमिटीबाट केही नेताहरुलाई कारबाही गर्ने निर्णय गर्न सक्नेछन् ।
ओली निकट नेता पृथ्वीसुब्बा गुरुङ, बैठकले गर्ने निर्णयबारे ठोस केही तय भइनसकेको बताउँछन् । ‘हाम्रा केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । तर, थप के गर्ने भन्ने त्यही तय हुन्छ’, स्थायी कमिटी सदस्य गुरुङ भन्छन् । तर, उक्त समूहका अर्का एक नेता भने प्रचण्डमाथि कारबाही गर्ने तयारी भएको बताउँछन् । ती नेता भन्छन्, ‘पार्टी विधान विपरीत लगातार बैठक राखिरहनुभएको छ । दुई अध्यक्षको सहमति हुनुपर्नेमा एकतर्फीरुपमा भेला र बैठक राख्नु कार्वाहीको विषय हुन्छ ।’
ओली पक्षले प्रचण्डलाई कारबाही गर्ने तयारी गरेको छ भने प्रचण्ड र माधव नेपाल समूहले त स्थायी कमिटीबाटै निर्णय गराइसकेको छ । ‘असंवैधानिक र अराजनिक निर्णय लिएर पार्टी र आन्दोलन नै सिध्याउने कदम चालिएपछि स्वभाविक रुपमा स्थायी कमिटी बैठकले कारबाहीको सिफारिस गर्ने नै भयो । अब केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्छ’, प्रचण्ड पक्षका स्थायी कमिटी नेता बेदूराम भुसाल भन्छन् ।
केपी ओली पक्षमा केन्द्रीय समितिका अल्पमत सदस्यहरु सहभागी हुने अहिलेसम्मको समीकरणले देखाएको छ । प्रचण्ड(माधव पक्षले आफूमाथि कारवाही गर्ने तयारी गरेपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको बैठक राखेर प्रचण्डलाई नै पार्टीको कार्यकारी अध्यक्षबाट हटाएको घोषणा गर्न सक्ने नेताहरुले बताएका छन् ।
त्यसो त सोमबार बिहान बालुवाटारमा आयोजना गरिएको आफ्नो पक्षका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन नहुने तर पूर्वसमूहहरु अलग हुन सक्ने तर्क गरेका छन् । ओलीको यो तर्कअनुसार बालुवाटारको बैठकले नेकपाको एकता भंग भएको घोषणा गर्न सक्छ । र, यसो गर्नका लागि पूर्वएमालेको बहुमत आफूसँग रहेको ओली पक्षले दाबी गर्न सक्ने सो समूहका नेताहरु बताउँछन् ।
यस्तो दाबी गर्नका लागि पूर्वएमाले अढाइ सय सदस्यहरुमध्ये आफूसँग करिब डेढसय सदस्य रहेको दाबी ओली पक्षका नेताहरुको छ । त्यसमा पूर्वमाओवादीका लेखराज भट्टलगायतका केही नेता थपिए पनि पूर्वसमूहलाई मान्यता दिने हो भने उनीहरुलाई गणपूरक मान्न नसकिने नेताहरु बताउँछन् ।
तर, अहिले नेकपा एमालेको अस्थित्व नरहेको र निर्वाचन आयोगमा नेकपाले वैधानिकता पाइसकेको अवस्थामा एमालेको भेला बोलाएर बहुमत छ भन्दा त्यसले बैधानिकता नपाउने माधव नेपाल पक्षका नेताहरुको तर्क छ । प्रचण्ड माधव पक्षले सोमबार नै निर्वाचन आयोगमा पुगेर केपी ओलीमाथि कारवाही गर्ने स्थायी कमिटीको निर्णय दर्ता गरिसकेको छ ।
अल्पमत बहुमतको गणित
अहिलेसम्मको अंकगणितलाई हेर्दा नेकपाको केन्द्रीय कमिटी र संसदीय दल दुबैमा अध्यक्ष ओली अल्पमतमा परिसकेका छन् । तर, उनले आफू पार्टीको पहिलो अध्यक्ष भएकाले बैठक बोलाउने र निर्णय गर्ने अधिकार आफूलाई मात्र भएको तर्क गर्न थालेका छन् ।
निर्वाचनमा आयोगमा रहेको रेकर्डअनुसार नेकपाको केन्द्रीय समितिमा कुल केन्ऽीय सदस्यहरुको संख्या ४४१ रहेको छ । पार्टी विभाजनले बैधानिकता पाउनका लागि यो संख्याको बहुमत अर्थात २२१ सदस्य देखाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण अनुसार केपी ओलीको पक्षमा १४० को हाराहारीमा केन्द्रीय सदस्यहरु मात्र छन् । यो संख्या भनेको करिब ३२ प्रतिशत मात्र हो । दल विभाजनका लागि केन्द्रीय कमिटीमा र संसदीय दल दुबै ठाउँमा ४० प्रतिशत कटाउनुपर्ने हुन्छ ।
त्यसो त केपी ओलीले पूर्वमाओवादी नेता बादलले साथ दिने अनुमान गरेका थिए । तर, सोमबार बसेको बादल समूहको भेलाले ओलीको कदमलाई प्रतिगामी ठहर गरेको छ । यसले गर्दा ओलीले बादल समूहका करिब डेढ दर्जन केन्द्रीय सदस्यहरुको साथ गुमाएका छन् ।
पछिल्लो समीकरण अनुसार प्रचण्ड र माधव नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरुको संख्या झण्डै ३ सय (२९७) रहेको छ । यो स्थितिमा केन्द्रीय कमिटीको बैधानिक अधिकार आफूहरुसँगै रहेको भन्दै प्रचण्ड(माधव समूह ढुक्क देखिएका छन् ।
यसैवीच, केही सदस्यहरु उताउता लाग्ने क्रम पनि जारी नै छ । सोमबार शेरबहादुर तामाङ माधव नेपाल समूहबाट ओली समूहतिर लागेका छन् भने ओली समूहमा रहेका रघुवीर महासेठले माधव नेपाललाई साथ दिने वचन दिएका छन् ।
केपी ओली समूहले आफ्नो गुटलाई साथ दिने आश गरे पनि अन्तिम घडीसम्म सचिवालय सदस्य वामदेव गौतमले पनि कुनै गुटमा नलाग्ने बताएका छन् । त्यस्तै पूर्वमाओवादीका हरिबोल गजुेलले पनि गुटमा नलाग्ने बताएका छन् । ओली पक्षका कृष्णप्रसाद दाहालसहितका केही नेताहरुले तटस्थ बस्ने निर्णय गरेका छन् ।
नेकपाका कतिपय नेताहरु तटस्थ भूमिकामा उभिने संकेत देखिएको छ । जस्तो बादल, वामदेव र हरिबोल गजुरेल अहिलेसम्म तटस्थ देखिएका छन् । तर, उनीहरुले ओलीलाई साथ नदिने स्पष्ट पारिसकेका छन् । ओलीले गरेको संसद विघटनबाट रुष्ट रहेका नेताहरु तटस्थ बस्ने निर्णय गर्दा ओली पक्षका सदस्यहरु थप घट्ने तर प्रचण्ड माधव पक्षको बहुमत भने कायमै रहने नेताहरु बताउँछन् । अनलाइनखवरबाट