हाम्रो अधिकारको अपहरण गरिएको छ । संविधानले हामीलाई अधिकार दिएको छ । हामीलाई मारियो भनेको छ, हामी मरेका छैनौँ । हामी जीवित छौँ । संविधानले हामीलाई जीवित राखेको छ । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमै नभएको कुरा गरेर संसद्लाई मा¥यौँ भन्नुभएको छ । तपाईं–हामी म¥यौँ कि ज्युँदै छौँ भन्ने प्रश्न छ हिजोआज । हामी त म¥यौँ क्यारे भन्नेजस्तो अनुहार बनाएको पनि फिल हुन्छ मलाई । हामी मरेका छैनौँ, हामी जीवित छौँ । संविधानतः जीवित छौँ । लोकतान्त्रिक मान्यताअनुसार जीवित छौँ । जीवित छौँ भनेर जुलुस लाएर हिँड्नुपर्ने भो । जीवित छौँ भन्न सर्वाेच्च अदालतमा जानुप¥यो । हामी जीवित छौँ, म¥योे भनेको गलत हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीबाट कल्पनै गर्न नसकिने बेइमानी भएको बताएका छन् । सोमबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूको बैठकमा प्रचण्डले संसद् विघटन हुनुअघि प्रधानमन्त्री ओलीसँग भएका संवाद जस्ताको त्यस्तै सुनाएका छन् ।
प्रचण्डले संसद् विघटनबारे आफूले पाएको सूचना बैठकमा सुनाए । उनले भने, ‘आइतबार बिहान साढे ५ बजे मलाई सूचना आयो, आज प्रधानमन्त्रीले संसद् भंग गर्दै हुनुहुन्छ । त्यसपछि मैले विभिन्नतिर सम्पर्क गरेँ । ओलीनजिकका महासचिव र शंकर पोखरेल मलाई भेट्न आठ बजे आउने कुरा पनि थियो । उहाँहरूलाई पनि फोन गरेँ । अरू वरिष्ठ नेता कमरेडसँग पनि सम्पर्क गरेँ । उहाँहरूलाई आज संसद् विघटन गर्ने तयारी छ भन्ने भरपर्दाे सूचना मैले पाएँ, यसलाई रोक्नुपर्ने भो, नत्र बडो भयानक हुन्छ भनेँ ।’
थप अवस्थाबारे प्रचण्डले सांसदहरूलाई सुनाए, ‘त्यसपछि मैले साढे आठ बजेतिर प्रधानमन्त्रीलाई फोन गरेँ । यदि तपाई केही सोच्दै हुनुहुन्छ भने तपाईं र म गम्भीर ढंगले छलफल नगरेसम्म डिसिजन नलिनुहोला, दुई अध्यक्ष छलफल गरेर मात्रै केही गर्नुपरे गर्नुहोला भनेँ । उहाँले ‘हुन्छ’ भन्नुभयो । साढे ११ बजेसम्म म खाना खाएर आइपुग्छु भनेँ । यसमा पनि ‘हुन्छ’ भन्नुभयो । तर, एकछिनपछि उहाँले अचानक मन्त्रिपरिषद्को बैठक बोलाउनुभयो भन्ने सुनेँ । उहाँ म पुग्नुभन्दा अगाडि नै एक्सनमा जाँदै हुनुहुन्छ भन्ने सूचना पाएँ ।’
त्यस दिनको घटनाक्रमबारे प्रचण्डले सांसदलाई थप सुनाए, ‘त्यसपछि फेरि प्रधानमन्त्रीलाई फोन गरेँ । मन्त्रिपरिषद् बैठक बस्नुअगाडि नै आउँछु भनेँ । उहाँले ‘हुन्छ’ भनेपछि म निस्किएँ । महासचिवलाई पनि भनेँ, उहाँले पनि ‘हुन्छ, तपाईं आइहाल्नुस्’ भन्नुभयो । मलाई २५ मिनेट लाग्यो । मलाई छल्नुपर्छ भनेजस्तो गरेर उहाँ हत्तनपत्त मन्त्रिपरिषद् बैठक जानुभएछ । म जाँदा त्यहाँ सुवास नेम्वाङ र शंकर पोखरेल हुनुहुन्थ्यो । मलाई भेटेर मात्र बैठकमा जानु भनेको त ‘हुन्छ’ भनेर उहाँ त गइहाल्नुभएछ भनेँ । अनि सुवासजी प्रधानमन्त्रीले ‘म अध्यादेश फिर्ता लिएर पाँचै मिनेटमा आउँछु, प्रचण्डजी आएपछि बसिरहनु भन्नुभएको छ भनेर भनिदिनू’ भनेर भन्नुभयो । दुर्घटना नहुने भयो भन्ने भयो ।’
त्यसपछिको घटनाक्रमबारे प्रचण्डको भनाइ थियो, ‘बस्दाबस्दै बैठकबाटै एकजना मन्त्रीले विघटनको प्रस्ताव आयो भन्ने एसएमएस गर्नुभयो । राष्ट्रपतिकहाँ प्रस्तुत गरेर प्रधानमन्त्री आउनुभयो । यति ढाँट, छल, बेइमानी मैले कल्पना गर्न सक्दिनँ । यस्तो पनि हुन्छ ?’
त्यसपछि प्रचण्डले प्रधानमन्त्रीले संसद् विघटन गरे पनि संसद् र सांसद ज्युँदो भएको बताए । ‘हाम्रो अधिकारको अपहरण गरिएको छ । संविधानले हामीलाई अधिकार दिएको छ । हामीलाई मारियो भनेको छ, हामी मरेका छैनौँ । हामी जीवित छौँ । यो धेरै महत्व छ, हामी जीवित छौँ । संविधानले हामीलाई जीवित राखेको छ । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमै नभएको कुरा गरेर हाम्रो यत्रो माननीय सदस्य र संसद्लाई मा¥यौँ भन्नुभएको छ । तपाईं–हामी म¥यौँ कि ज्युँदै छौँ भन्ने प्रश्न छ हिजोआज । हामी त म¥यौँ क्यारे भन्नेजस्तो अनुहार बनाएको पनि फिल हुन्छ मलाई । हामी मरेका छैनौँ, हामी जीवित छौँ । संविधानतः जीवित छौँ । लोकतान्त्रिक मान्यताअनुसार हामी जीवित छौँ । अब हामी जीवित छौँ भनेर जुलुस लाएर हिँड्नुपर्ने भो । हामी जीवित छौँ भन्ने कुरा भन्न हामी सर्वाेच्च अदालतमा जानुप¥यो । हामी जीवित छौँ, हामीलाई म¥यो भनेको गलत हो । सर्वाेच्च अदालतलाई हामीले भन्नुप¥यो कि हामी ज्युँदै छौँ ।
प्रचण्डले जनप्रतिनिधिहरूको अधिकारको अपहरण गरिएको सुनाए । ‘हामी सबै सांसद र जनप्रतिनिधिका अधिकारको अपहरण गरियो । संविधानले कल्पना पनि गरेको छैन । राष्ट्रपतिलाई संविधानको संरक्षक पनि भनेको छ, संविधानमा हुँदै नभएको कुरालाई स्वीकृति गर्ने कुनै प्रावधान छैन,’ प्रचण्डले भने, ‘हामी त्यस्तो अभिशप्त सिकारजस्तो हुन पुग्यौँ, हामीले नै बनाएको संविधान, सबैभन्दा लोकतान्त्रिक भनेर बनाएको संविधान र त्यसमा हुँदै नभएको कुरामा गएर हामी प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यलाई बलि चढाउनेजस्तो बडो विचित्रको काम गरियो । वेस्टमिनिस्ट्रयल सिस्टम भएको बेलायतमा पनि यो प्रावधान छैन । तर, हाम्रामा हुँदै नभएको प्रयोग गरियो ।’
प्रचण्डले पार्टी फुटाउनका लागि प्रधानमन्त्री ओलीले पहिलेदेखि नै प्रयास गरिरहेको दाबी पनि गरे । उनले ब्रिफिङ गरे, ‘विचित्र–विचित्र, अनौठो–अनौठो भएको छ । यो हुँदै नहुने भएको छ । संसारमै मलाई त यस्तो हुन्छजस्तो लाग्दैन, राजनीतिक पार्टीको नेतृत्वमा । एउटा उदाहरण मात्रै भन्छु । यो पार्टी एकता टुटाउनका लागि हाम्रो अध्यक्ष वा प्रधानमन्त्री कमरेड केपी ओलीले गएको केन्द्रीय समिति बैठकबाट पटक–पटक प्रयास गर्नुभयो । कहिले अध्यादेश ल्याएर पार्टी फुटाउने, कहिले कथित एमाले नामको अर्काे पार्टी दर्ता गर्न लगाएर फुटाउने, कहिले अरू सबैलाई ह्युमिलियट गरेर पार्टी फुटाउन खोज्ने गर्नुभएको थियो । हामीले पटक–पटक बचाउन बल गरेका थियौँ ।’
प्रधानमन्त्रीले ठाडै झुट बोल्ने गरेको प्रचण्डको आरोप थियो । ‘अस्तिको पटक एउटा अध्यादेश पनि बडो अपारदर्शी ढंगले, पार्टीमा कुनै जानकारी पनि छैन, अचानक उहाँले अध्यादेश ल्याउनुभयो । संसद्को अधिवेशन अनिवार्य बोलाउनैपर्ने वेलामा अध्यादेश ल्याएर संवैधानिक नियुक्ति गर्ने कुराको विरोध ग¥यौँ । हामी ८३ जना माननीयको हस्ताक्षर लिएर अधिवेशन तुरुन्त बोलाउनुप¥यो भनेर राष्ट्रपतिकहाँ दुईजना नेता जानुभयो । घन्टौँ त्यहाँ बस्नुभयो । एउटा दर्ता गर्ने सामान्य कुरा पनि त्यहाँ भएन । भनेपछि हाम्रो सर्वाेच्च संस्थाको कार्यशैली, नैतिक धरातल, ८३ जनाको हस्ताक्षर लिएर पार्टीको वरिष्ठ नेताहरू पम्फा भुसाल र भीम रावल नै जानुभएको छ, दर्ता हुँदैन । उहाँहरू आउनुहोला र बैठक सुरु गरौँला भनेर घडी हेरिरहेको हुन्छु, उहाँहरू त आउनुहुन्न । अन्तिममा एउटा सहमति गरियो स्थायी कमिटीमा अध्यादेश फिर्ता लिने । प्रधानमन्त्री आफैँले संवैधानिक परिषद्ले संवैधानिक नियुक्ति गरेको छैन भनेर हामी स्थायी कमिटीकै सदस्यहरूको अगाडि उहाँकै मुखले गरेकै छैन भनेपछि लौ गरेकै छैन भने ठीकै भयो अब अध्यादेश फिर्ता लिने स्थितिमा हामीले त्यो आवेदनपत्र पनि फिर्ता लिने भनियो । अहिले हेर्नुस् त ! त्यति नै वेला निर्णय भइसकेको रहेछ । यसरी सीधै झुट बोल्न सक्ने, स्थायी कमिटीकै अगाडि ठाडै झुटो बोल्न सक्ने प्रधानमन्त्रीलाई के भन्ने ?’
बैठकमा प्रचण्डले ओलीलाई संसदीय दलको नेताबाट हटाउने विषयमा आगामी बुधबार निर्णय हुने पनि संकेत गरे । उनले भने, ‘अहिले प्रतिनिधिसभाको झन्डै ९२–९३ जनाको हस्ताक्षर भइसकेको छ । अरू केही कमरेड हस्ताक्षर गर्ने प्रक्रियामै हुनुहुन्छ । राष्ट्रिय सभामा २४ जना कमरेडको हस्ताक्षर भइसकेको छ । अझै केही कमरेड तयारीमा हुनुहुन्छ । त्यसकारण, पर्सिसम्म हामीले संसदीय दलबाट दल नेताको विषयमा औपचारिक निर्णय गर्नुपर्ने पनि हुन्छ । त्यसकारण, हामीले सोचेका छौँ मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठक छ, त्यहाँबाट अनुशासनको कारबाहीतिर हामी अघि बढ्छौँ । र, पर्सि पार्टीको निर्देशनलाई समेत मध्यनजर गरेर संसदीय दलको बैठकबाट हामीले अरू औपचारिक निर्णय गर्नुछ ।’
बैठकमा माधव नेपाल धेरै बोलेनन् । तर, प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको उनको भनाइ थियो । नेपालले भने, ‘यो असंवैधानिक कदम हो, संविधानमा हामीले मिहिनेतपूर्वक विगतका अनुभवबाट सिकेर प्रधानमन्त्रीको विशेषाधिकार राखेर व्यवस्था र प्रणालीलाई नै अस्थिर बनाउने कुराचाहिँ नराख्न खोजेको हो । अहिलेको संविधानमा संसद् विघटन गर्ने निहित अधिकार प्रधानमन्त्रीमा छैन । राजनीतिक संवादका तमाम ढोका बन्द गरेर छलछामबाट उहाँले यो सारा काम गर्नुभएको छ ।’
माधव नेपाल संसद् विघटन नै नभएको तर्क गरिरहेका छन् । दलको बैठकअगाडि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तै तर्क गरेका थिए । उनले भनेका थिए, ‘केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक हो । संविधानमा त्यस्तो कुनै प्रावधान छैन । अहिले उहाँ अल्पमतमा परिसकेको अवस्था छ । हिजो संविधानको निर्माण गर्दाबखतको जुन स्पिरिट हो, संविधानको आफ्नैपन हो, यो सबैका विरुद्धमा भएकाले यो निर्णय असंवैधानिक छ । अलोकतान्त्रिक छ । निरंकुश तरिकाको अवलम्बन छ । त्यसकारण, यसको घोर विरोध गर्छौँ । र, संसद् विघटित भएको ठान्दैनौँ । संसद् विघटन गर्ने अधिकार उहाँलाई छैन । राष्ट्रपतिले जुन हिसाबले स्वीकार गर्नुभयो, त्यो पनि अत्यन्तै खेदजनक छ । संसद् विघटन नै भएको छैन । कसरी विघटन भयो ? हामी मान्दै मान्दैनौँ । अधिकार नै नभएपछि उहाँले कसरी विघटन गर्नुहुन्छ ? उहाँले बाटोमा हिँड्दाहिँड्दै कुनै निर्णय गरिदिनुभयो भने हामीले मान्ने ?’
बैठकमा झलनाथ खनालले प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई कुल्चिएको बताएका थिए । उनको भनाइ थियो, ‘संविधानको मर्म र भावनालाई कुल्चिने गरी, संविधानको मर्मलाई ध्वस्त पार्ने गरी, लोकतन्त्रको भावनालाई ध्वस्त पार्ने गरी केपी शर्मा ओलीले जुन प्रकारको कदम चाल्नुभयो त्यो नितान्त गलत छ । जनविरोधी छ । संविधानविरोधी कदम छ । त्यसकारण, हामी यसका विरुद्धमा उठ्नुपर्नेछ । त्यही उठ्नुपर्ने कुरालाई ध्यान दिएर हामीले आज बकाइदा संसदीय दलको बैठक राखेका छौँ ।’ दक्षिणपन्थी भड्कावले ग्रस्त गरेको गुटको रूपमा केपी ओलीको नेतृत्वमा पार्टीभित्र गुटको स्थापना भएको खनालको आरोप थियो । ‘यो दक्षिणपन्थी भड्काउले ग्रस्त गरेको एउटा गुटका रूपमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीभित्र गुट फर्मेसन भयो । त्यही गुट फर्मेसनले निरन्तर दुःख दिइरह्यो । हामीले त्यसलाई सच्याउनका लागि अनेकन कोसिस ग¥यौँ । तर, भएन,’ उनले भनेका थिए । नयाँ पत्रिकामा खवर छ ।