काठमाडौँ, नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको छ । बबरमहलमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आइतबार भएको संसद् विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको हो ।
आन्दोलनका स्वरुप भने बुधबार कांग्रेस लगायत दलसँग छलफल गरेर तय गर्ने र पर्सिको बैठकपछि आन्दोलन अगाडि बढाउने नेकपाले जनाएको छ । यस्तै भोलि १ बजे संसदीय दलको बैठक पनि आह्वान गरिएको छ । मंगलबारको केन्द्रीय कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सांसद तथा कैलालीका नेता दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको छ ।
जसपाद्वारा ५ दिने आन्दोलन घोषणा
जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ ।
समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेको छ ।