काठमाडाैँ,गठबन्धन परिवर्तनसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीमार्फत नयाँ गठबन्धन अस्तित्वमा ल्याउने प्रयास थालेको छ । कांग्रेसले परिवर्तित परिस्थितिमा लोकतान्त्रिक गठबन्धनसँग छलफलका आधारमा मात्रै उम्मेदवार तय गर्ने रणनीति लिएको छ । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदका लागि २९ फागुनमा निर्वाचन हुँदै छ ।
सभापति शेरबहादुर देउवाले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार र रणनीतिबारे छलफल गरेका थिए । बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीका अनुसार गठबन्धनमा छलफलपछि मात्रै उम्मेदवार टुंगो लगाउने तयारी छ । प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस राष्ट्रिय सभामा दोस्रो दलको हैसियतमा छ ।
‘परिवर्तित परिस्थितिमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियत छ । प्रतिपक्षमा रहेका दलहरूबीचको एलायन्समा छलफल गरेर मात्रै उम्मेदवार तय गरेर जाने विषयमा छलफल भयो,’ केसीले नयाँ पत्रिकासँग भने, ‘अब हामीनिकट दलहरूसँग छलफल गरेर मात्रै कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्ने निर्णयमा पुग्नेछौँ ।’
अर्जुननरसिंह केसी, नेता, कांग्रेस भन्छन् – परिवर्तित परिस्थितिमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियत छ । प्रतिपक्षमा रहेका दलहरूबीच छलफल गरेर मात्रै उम्मेदवार तय गर्ने विषयमा पार्टीमा छलफल भएको छ । अब हामीनिकट दलहरूसँग छलफल गरेर उम्मेदवार टुंग्याउँछौँ ।
एमाले–माओवादी गठबन्धन बनेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न सरकारबाहिर रहेका दलहरूसँग छलफल गरिरेहको छ । लोसपा नेता डा. सुरेन्द्र यादव राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पनि लोकतान्त्रिक दलहरूलाई समेटेर जाने विषयमा छलफल भइरहेको बताए । ‘हामी निर्वाचनमा सँगै थियौँ । अप्रत्याशित रूपमा गठबन्धन तोडिएपछि पनि एकै ठाउँमा रहेर जाने विषयमा सबै विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने ।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमा परिणाम आफ्नो पक्षमा नआउने अवस्था रहे पनि कांग्रेसले अन्य दलको समेत समर्थन जुटाएर उम्मेदवारी दिन चाहेको छ । हाल राष्ट्रिय सभा अध्यक्ष मात्र रिक्त छ । तर, एमालेसँगको सहमतिमा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति भएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष रहेकी उर्मिला अर्यालको राजीनामा आउनेछ ।
१० माघमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचनमा गएको थियो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलनमा फेरबदल आएको थियो । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । तत्कालीन समयमा गठबन्धनबीच सो सिट जनमोर्चालाई दिने सहमति बनेको थियो । साथै, राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस नेता कृष्ण सिटौलालाई अगाडि सार्ने सहमति बनेको थियो । तर, राष्ट्रिय सभामा कोशी प्रदेशमा गठबन्धनबाट उम्मेदवार भएका कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा महिलातर्फ माओवादीकी चम्पादेवी कार्की पराजित भइन् ।
माओवादी उम्मेदवार पराजित भएर एमाले उम्मेदवार निर्वाचित भएपछि माओवादीले कांग्रेसबाट धोका भएको भन्दै सिटौलालाई अध्यक्षमा अगाडि सार्ने सहमतिअनुसार अगाडि बढ्न नसक्ने बताउँदै आएको थियो । मुख्यमन्त्री चयन प्रक्रियामा धोका पाएको माओवादीले राष्ट्रिय सभा निर्वाचनमा दोस्रो धोका थियो । यसबाट शंकाको दायरा बढेको नेताहरू बताउँछन् । अन्ततः राष्ट्रिय सभा निर्वाचनमा आइपुग्दा गठबन्धन टुट्नुको सूत्रपात बन्न पुग्यो । गठबन्धन टुट्नुको प्रमुख कारणको रूपमा माओवादीले कोशी प्रकरणलाई उल्लेख गरेको छ ।
वामपन्थी शक्तिहरू एकीकृत भएपछि लगत्तै लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर सरकारलाई विश्वासको मतका आधारमा संकटमा पार्ने रणनीतिअनुसार वैकल्पिक गठबन्धनको कसरत थालेको थियो । सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर तत्काल सरकारमा जान हतार नगर्न आग्रह गरेका थिए । साथै, प्रधानमन्त्री प्रचण्डले धोका दिएको निष्कर्षसहित पूर्वगठबन्धनका बाँकी घटकलाई जुटाउने प्रयास गरिरहेको छ । कांग्रेसले लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसँग समेत छलफल गरिरहेको छ । नयाँ पत्रिकामा खवर छ।