नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी र उनका श्रीमान् समेत रहेका नेता रेशम चौधरीबीचको मतभेद सतहमा आएको छ । केन्द्रमा गठबन्धन फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमले फरक–फरक निर्देशन दिएका हुन् ।
यसअघि अध्यक्ष रहे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि पद खोसिएका रेशमको निर्देशनअनुसार नागरिक उन्मुक्तिबाट शुक्रबार तीन मन्त्रीले शपथ लिएका थिए । तर, अध्यक्ष रञ्जिताले शनिबार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई फोन गरेर पार्टीबाट मन्त्रीहरू फिर्ता बोलाउन र सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।
मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको उल्लेख गर्दै रञ्जिताले पार्टीको निर्देशन अवज्ञा गरे कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन् । रेशमले भने, थपिएका मन्त्रीहरूलाई शनिबारै बर्दिया बोलाएर ‘राम्रोसँग काम गर्नू’ भनेका छन् । शनिबार नै बुटवल पुगेका रेशमले पत्रकार सम्मेलन गर्दै ‘सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्री फिर्ता नहुने’ प्रतिक्रिया दिए ।
रञ्जिता र रेशमका मतभेदका कारण नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दल पनि अनिर्णीत छ । शनिबार रातिसम्म सरकारबाट फिर्ता हुनेबारे कुनै निर्णय गरेको छैन । दलका नेता चौधरीले पार्टी अध्यक्षले निर्देशन दिए पनि समर्थन कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताए । अध्यक्षको निर्देशनबारे संसदीय दलको बैठकमा छलफल गरिने उनले बताए । ‘अध्यक्षबाट मन्त्री फिर्ता बोलाउन र समर्थन फिर्ता लिन निर्देशन आएको छ, यसबारे के गर्ने, कसरी अगाडि बढ्ने भन्नेबारे दलको बैठक राखेर साथीहरूको राय लिन्छु,’ चौधरीले भने, ‘अहिलेसम्म सरकारलाई दिएको समर्थन कायमै राखेर जाने भन्ने कुरा छ ।’