spot_img

सुनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयनमाःगृहमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डकाे निर्देशन सिंगै क्याबिनेटको साथ छ,अगाडि बढ्नुस्

spot_img

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सरकारले कार्यान्वयनमा लगेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै गृह मन्त्रालय ‘एक्सन’मा उत्रिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुखसहितका अधिकारीमाथि विभागीय कारबाही सुरु भएको छ ।

त्रिभुवन विमानस्थलबाट ६०.७१६ किलो र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाई ल्याइएको साढे नौ किलो सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उनले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउँदै त्यसबारे ‘ब्रिफिङ’ गरेका थिए । साँझ बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको प्राथमिकता सुशासन रहेको भन्दै आयोगको प्रतिवेदन कार्यान्वयन गरेर तस्करीविरुद्ध निर्मम लडाइँ लड्नुपर्ने बताएका थिए । उनले गृहमन्त्री लामिछानेलाई दोषी नउम्किने र निर्दोष नफस्ने गरी अगाडि बढ्न निर्देशन दिएका थिए । ‘गृह मन्त्रालयले गर्नुपर्ने कारबाही अगाडि बढाउनुस् । यसमा दायाँबायाँ केही सोच्नुपर्दैन ।

निर्दाेष फस्नुभएन, दोषी उम्किनुभएन, त्यसका लागि स्पष्ट रूपमा जे गर्नुपर्ने हो, गर्नुस् । जो–कोही व्यक्ति भए पनि प्रतिवेदनले जे औँल्याएको छ, त्यसअनुसार गर्नुस् । कुनै पनि हिसाबले कसैसँग पनि सम्झौता हुँदैन । सिंगै क्याबिनेटको साथ छ, अगाडि बढ्नुस्,’ मन्त्रिपरिषद्मा प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

आयोगको सुझावअनुसार नै सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहितका अधिकारीलाई विभागीय कारबाही थालिएको गृहमन्त्री लामिछानेले बताए । एआइजी बज्राचार्यसँगै एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ । उनीहरूले अनुसन्धानका क्रममा तस्करीमा जोडिएका ‘हाई प्रोफाइल’ व्यक्तिहरूलाई उन्मुक्ति दिएको आयोगको ठहर छ ।

‘आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णयअनुसार २४ घण्टा नबित्दै कार्यान्वयनमा लगिएको छ । कुनै पनि आयोगको प्रतिवेदन पेस भएको २४ घण्टाभित्रै कार्यान्वयनमा गएको सम्भवतः यो पहिलो घटना हो,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले नयाँ पत्रिकासँग भने, ‘प्रतिवेदनको सुझावअनुसार नै सिआइबीको प्रमुख, एक एसपी र दुई डिएसपीलाई जिम्मेवारीबाट हटाइएको छ ।’

गृहमन्त्री लामिछानेका अनुसार माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, विद्यार्थी नेता दीपेश पुन, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङ, व्यवसायी जीवन चलाउने, भीमकान्त भण्डारी, सुन तस्कर दाबा छिरिङका व्यावसायिक साझेदार मञ्जिल श्रेष्ठलागयतलाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा विद्यार्थी नेता दीपेश शुक्रबार साँझ पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमासमेत मुछिएका उनलाई प्रहरीले साँझ धुम्बराहीबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले बताए । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धि उजुरी परेकाले साँझ नै बुटवल लगिएको स्रोतले जनाएको छ ।

‘आयोगको प्रतिवेदनमा कृष्णबहादुर महरा, दीपेश पुन, जीवन चलाउनेलगायतविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । सोही क्रममा दीपेश आजै पक्राउ परेका छन् । सुरुवात भयो, यो सिलसिला जारी रहन्छ,’ गृहमन्त्री लामिछानेले भने । अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीका गतिविधि राज्यको रेकर्डमा रहने गरी राख्न आयोगले सिफारिस गरेको छ ।

अभियुक्तहरू भाग्न सक्ने भएकाले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरिएको मन्त्री लामिछानेले बताए । ‘घटनामा जोडिएका कतिपय अभियुक्त पक्राउ गर्नु छ । प्रतिवेदन सार्वजनिक हुँदा उनीहरू भाग्न सक्ने डर भयो । सुरक्षा संवेदनशीलताकै कारण प्रतिवेदन सार्वजनिक नगरिएको हो । यसको अर्थ प्रतिवेदन सार्वजनिक नै नगरिने भन्ने होइन । ढिलोचाँडो सार्वजनिक हुने नै छ,’ उनले भने ।

विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ किलो र भेपमा लुकाई ल्याएको साढे नौ किलो सुन तस्करी घटनाको अनुसन्धान सिआइबीले गरेको थियो । त्यस क्रममा सिआइबीले माओवादी उपाध्यक्ष महरा, विद्यार्थी नेता पुन, व्यवसायी चलाउने, पूर्वउपराष्ट्रपतिका सल्लाहकार जीवन गुरुङलगायत हाई प्रोफाइललाई उन्मुक्ति दिएको थियो ।

अनुसन्धानका क्रममा सिआइबीले महरा, पुन, चलाउने र गुरुङसँग कार्यालयमा नै बोलाएर बयान लिएको थियो । चलाउनेको बयान अनुसन्धान प्रतिवेदनमा समेत समावेश गरेको थिएन । जब कि उनलाई सिआइबीले कार्यालयमा नै बेलाएर सात घण्टा बयान लिएको थियो ।

विमानस्थलबाट तस्करी भएको सुनको अनुसन्धानमा तत्कालीन प्रतिपक्षी दल एमालेले शंका गरेपछि सरकारले निष्पक्ष छानबिन गर्न १४ असोजमा आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ किलो र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको सम्बन्धमा विस्तृत छानबिन गरेको थियो ।

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ इ–सिगरेट (विद्युतीय चुरोट)सहित पक्राउ परे । अनुसन्धानपछि भेपभित्र नौ किलो सुन रहेको खुलेका थियो । सो घटनामा मुछिएपछि माओवादी नेता महराका छोरा राहुललाई सिआइबीले पक्राउ गरेको थियो ।

त्यस्तै, गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । उक्त सुन मोटरसाइक र स्कुटरको ‘बे्रक सु’मा लुकाएर हङकङबाट नेपाल ल्याइएको थियो । जसको अनुसन्धान पछि सिआइबीले गरेको थियो । २९ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा अहिले जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भने–सिंगै क्याबिनेटको साथ छ, अगाडि बढ्नुस्
गृह मन्त्रालयले गर्नुपर्ने कारबाही अगाडि बढाउनुस् । यसमा दायाँबायाँ केही सोच्नुपर्दैन । निर्दाेष फस्नुभएन, दोषी उम्किनुभएन, त्यसका लागि स्पष्ट रूपमा जे गर्नुपर्ने हो, गर्नुस् । जो कोही व्यक्ति भए पनि प्रतिवेदनले जे औँल्याएको छ, त्योअनुसार गर्नुस् । कुनै पनि हिसाबले कसैसँग पनि सम्झौता हुँदैन । सिंगै क्याबिनेटको साथ छ, अगाडि बढ्नुस् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ पत्रिकासँग भने–प्रतिवेदन कार्यान्वयन सुरुवात भयो, यो सिलसिला रोकिन्न
आयोगले प्रतिवेदन बुझाएको २४ घण्टा नबित्दै कार्यान्वयनमा लगिएको छ । कुनै पनि आयोगको प्रतिवेदन यति शीघ्र कार्यान्वयनमा गएको सम्भवतः यो पहिलो घटना हो । प्रतिवेदनको सुझावअनुसार सिआइबीको प्रमुख, एक एसपी र दुई डिएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । प्रतिवेदन कार्यान्वयन सुरुवात भयो, यो सिलसिला रोकिन्न ।

पूर्वउपराष्ट्रपतिका सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दर्ता, छोरा पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध एक अर्ब ४० करोड रुपैयाँ बिगोसहित पाँच वर्ष कैद सजाय माग गरिएको छ । विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा गुरुङको संलग्नता रहेको खुलेको थियो । त्यस्तै, पूर्वउपराष्ट्रपतिका छोरा तथा विद्यार्थी नेता दीपेश पुन शुक्रबार साँझ पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा समेत मुछिएका उनलाई प्रहरीले साँझ धुम्बराहीबाट पक्राउ गरेको हो । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले साँझ नै बुटवल लगिएको स्रोतले जनाएको छ ।

सिआइबी प्रमुख किरण बज्राचार्यसहित चार अधिकारी हेडक्वार्टर तानिए
आयोगको सुझावअनुसार नै सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहितका अधिकारीलाई विभागीय कारबाही थालिएको गृहमन्त्री रवि लामिछानेले बताए । एआइजी बज्राचार्यसँगै एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ । उनीहरूले अनुसन्धानका क्रममा तस्करीमा जोडिएका ‘हाई प्रोफाइल’ व्यक्तिहरूलाई उन्मुक्ति दिएको आयोगको ठहर छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img