काठमाडौँ — सर्वोच्च अदालतको गेटबाट स्वचालित हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ मा सर्वोच्च प्रवेश गर्ने क्रममा पक्राउ परेका प्रसाईंका अंगरक्षकद्वय खड्का र धिमाललाई तत्काल थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको हो ।
खड्का र धिमाललाई प्रहरीले सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा जाँच गर्दा हतियार भेटिएपछि पक्राउ गरेको थियो । जर्मनीमा बनेको स्वचालित हतियार र त्यसमा लाग्ने १०० थान गोलीका साथै चार थान म्यागेजिन बरामद गरेको थियो । पक्राउ परेका खड्का र धिमालविरुद्ध निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसूरमा जरूरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेर अनुसन्धान थालेको थियो । प्रहरीको उक्त कार्य गैरकानुनी भन्दै सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
सर्वोच्चले इजाजतपत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा भने छानबिन गर्न आदेश दिएको छ । ’मुलुकी अपराध संहिता, २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हातहतियार प्राप्त गर्न नहुने शीर्षकअन्तर्गत देहाय (घ) मा जुनसुकै प्रकारको राईफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राखे इजाजत प्राप्त गर्न नसकिने गरी नकारात्मक सूची राखेको देखिएकोमा सुरक्षा निकायका अधिकारी बाहेक सर्वसाधरण नागरिकले बरामद भएको वर्गको हतियार राख्न इजाजत प्राप्त गर्न नै नसक्ने स्थिति देखिएकोमा इजाजतपत्रवाला दुर्गाप्रसाद प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट उक्त हतियार राख्न पाउने गरी लिएको इजाजतपत्र मिति २०७१।०९।०७ मा के कसरी नविकरण भएको हो ?,’ आदेशमा भनिएको छ, ’सो सम्बन्धमा आवश्यक छानबिन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य सम्वेदनशिल क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानूनी व्यवस्था गर्नु भनी विपक्षी गृह मन्त्रालयको नाउँमा यो आदेश जारी गरिएको छ ।’
आदेशअनुसार छानबिन भएको विषयमा अदालतका मुख्य रजिष्ट्रारलाई दिनू भनेर पनि इजलासले भनेको छ ।