जसरी हुन्छ वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिनुपर्ने चर्को दबाबका बिचमा पनि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराइसकेको अवस्थामा केन्द्रले गलत तरिकाले सोच्दै नसोचेर निर्णय गरेको माओवादी सांसदहरूको भनाई छ ।
मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी स्वरूप आइतबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् । केन्द्रमा फरक सहमति भएपछि अब के हुने भन्नेबारे पनि अन्यौलता कायमै छ ।
माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आए पनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको हो । सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसी केन्द्रबाट बेसमय, गलत तरिकाले निर्णय आएको बताए । मुख्यमन्त्रीले विश्वासको मत लिएर नै छाड्ने दाबी पनि गरे । उनी भन्छन्,‘राजीनामा दिने त कुरा नै हुन्न, प्रदेश सभाको कार्यसुची अनुसार विश्वासको मत लिने कुरा भइसकेको छ ।’
यदि केन्द्रको निर्णय अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने उनले बताए । अब विश्वासको मतका लागि निर्णय भइसकेपछि कुन नैतिकताले पछि हट्ने ? भन्दै जिसीले उल्टै प्रश्न गरे । संवैधानिक प्रक्रियाहरू अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले निर्णय गर्दा प्रदेशको स्वायत्तता हरण हुने गरेर गर्नु राम्रो नभएको पनि उनको भनाइ छ ।
मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले यो विषयमा अब भोलि बिहान नै छलफल हुने बताए । यता माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले भने केन्द्रको निर्णयलाई नै मानेर जानुपर्ने तर्क राखे । ‘निर्णय भएर सर्कुलर पनि आइसकेको छ,’ उनले भने, ‘निर्णय मान्नैपर्ने हुन्छ ।’
तर, एमालेका नेताहरू भने मुख्यमन्त्रीले भोलि नै राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने बताउँछन् । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्रीले राजीनामा दिई सहज वातावरण बनाउनुपर्ने बताए ।