काठमाडौँ,नागरिक उन्मुक्ति पार्टी ( )भित्रको द्वन्द्व लगातार बढ्दै गएको छ । सो पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधरतिर लक्षित गर्दै आफूहरू असुरक्षित रहेको बताएका छन् ।
सोमबार पार्टीको बैठकका क्रममा हातपात भएको भनिए पनि संरक्षक चौधरीले त्यस्तो केही नभएको दाबी गरे । पार्टीका संस्थापक सदस्य र महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यबिचमा को आधिकारिक भन्नेबारे सामान्य विवाद भएको उनको भनाइ छ ।
बैठकमा रञ्जिता पक्षका केही व्यक्तिले आफूहरूलाई ज्यान मार्ने धम्की दिएर गएको चौधरीले बताए । उनले आफ्नो पार्टीलाई अरुले चलाएका कारण यी सब समस्या आएको दाबी गरे ।
सोमबार भएको घटनापछि पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले नागरिक उन्मुक्ति पार्टी चलाएको आरोप लगाए । ‘आफूले रोपेको बिरुवा अरुले काटेको टुलुटुलु हेर्न सक्दिनँ,’ उनले भने, ‘बिरुवा मैले रोपेको हुँ, कुन बिरुवा कुन जातको हो, त्यो मलाई थाहा छ तर अरुले आएर त्यो काटिरहेका छन् । त्यो टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’
आफूले तीन महिनादेखि राम्रोसँग खाना पनि नखाएको चौधरीले बताए । ‘कहिले एक चम्चा खान्छु, कहिले दुई चम्चा खान्छु । कहिले के खान्छु,’ उनले भने, ‘आत्महत्यासम्मको परस्थितिमा पुर्याइसके, तै पनि मान्दैनन् । अनि के गर्ने ? घरको मान्छेले नमान्दा झन् पीडा हुन्छ । जति भन्दा उहाँ (रञ्जिता) मान्नुहुन्न ।’
चैत २३–२४ गते बस्ने केन्द्रीय समितिको बैठकले सरकारको बारेमा निर्णय गर्ने बताउँदै उनले त्यतिबेलासम्म सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीको सहभागिता यथावत् रहने प्रस्ट पारे । स्रोतका अनुसार रेशम चौधरी र रञ्जिता श्रेष्ठबिच नागरिक उन्मुक्ति पार्टी कुनै पनि सरकारमा नरहने सहमति भइसकेको थियो । रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा जानु हुँदैन भनेपछि रेशमले केन्द्रीय सरकारमा पनि जानु हुँदैन भनेका थिए । तर पार्टीका संस्थापक नेताहरू सम्मिलित समिति कि महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिलाई मान्यता दिने भन्नेबारे दुवैबिच विवाद भएपछि त्यो सहमति भाँडिएको स्रोत बताउँछ ।
सहमतिपत्रलाई रञ्जिता पक्षधरका नेताले च्यातेर हिँडेका छन् । रेशम चौधरीले महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई मान्यता दिनुपर्छ भनिरहेका छन् भने रञ्जिता श्रेष्ठले पार्टी स्थापनाको बेला गठन भएको केन्द्रीय समितिलाई मान्यता दिनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको छ ।
सोमबार पार्टी कार्यालयमा महाधिवेशनबाट निर्वाचित केही केन्द्रीय सदस्य र पदाधिकारी पनि आएका थिए । संस्थापक केन्द्रीय सदस्यहरूले उनीहरूलाई बैठकमा किन आएको भन्दै निकाल्न खोजेका थिए । रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्यहरूको बैठक बोलाएकी थिइन् ।