सुर्खेत,कर्णाली प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ । सत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार गठनमा सकस भएको हो । माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएको चार दिन हुँदा पनि नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया सुरु हुन सकेको छैन ।
नेकपा माओवादी र एमालेबीचमा मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा सरकार गठनमा ढिलाइ भएको हो । मुख्यमन्त्री शर्माले सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार राजीनामा दिएका थिए ।
शर्माले सभामुखसहित चार मन्त्रालय माओवादीले पाउनुपर्ने माग राख्दै आएका छन् । उक्त मागका कारण सत्ता साझेदार दल एमालेसँग सहमति जुट्न सकेको छैन । तर, नेकपा एमालेले भने पहिला सरकार गठनपछि मात्रै मन्त्रालयको भागबन्डाको टुङ्गो लगाउने बताउँदै आएको छ ।
माओवादीले सभामुखसहित चार मन्त्रालयमा दाबी गरेको छ । पहिला सबै सहमति गर्ने, त्यसपछि मात्रै मन्त्रीहरू नियुक्ति गर्ने पक्षमा माओवादी रहेकाे छ। एमाले भने मुख्यमन्त्रीको नियुक्ति लिने वातावरण दिनुपर्ने माग राखेकाे छ।
चैत २१ गते शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका थिए । प्रदेश प्रमुख परियारले चैत २७ गते बेलुका भित्र समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।