काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक पुनर्संरचनामा सफल भए पनि प्रत्येक नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको बताएका छन् । रुपन्देहीको लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो’, उनले भने, ‘मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुस गरेको छु । म यो भूमिबाट यसतर्फ जिम्मेवारीबोध भएको भावना व्यक्त गर्दछु ।’
नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दिगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने उनले बताए ।