१५ वैशाखका लागि तय इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा २० जनाको उम्मेदवारी परेको छ । संघीय संसद्को एक निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन संसदीय अंकगणितका लागि धेरै अर्थपूर्ण नभए पनि राजनीतिक भविष्यको संकेत हुने भएकाले पुराना र नयाँ दलसँगै पहिचानवादीका लागि इलाम २ प्रतिष्ठाको विषय भएको छ ।
४ मंसिर ०७९ को आमनिर्वाचनबाट निर्वाचित सदस्य सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयाघातबाट निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन परिणामले राजनीतिक दलहरूको र पहिचानवादी मुद्दाको भविष्यको रूपरेखा कोर्ने भएकाले सबै दल र पहिचानवादी सम्पूर्ण शक्ति लगाएर चुनावी मैदानमा उत्रेका छन् ।
लगातार जित्दै आएको निर्वाचन क्षेत्र भएकाले एमाले यसको विरासत जोगाउने प्रयासमा छ। यसपटक एमालेबाट सुवासका छोरा सुहाङ उम्मेदवार बनेका छन् । बुबाले तीन दशक धानेको संसदीय राजनीतिको विरासतलाई निरन्तरता दिनुपर्ने चुनौतीमाझ उनी मैदानमा छन् । उनलाई माओवादी र विप्लवको नेकपाले समर्थन गरेको छ । एमालेबाट उम्मेदवारी दर्ता गरेका सुहाङले पार्टीले तयार गरेको घोषणापत्रसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन आफ्नो एजेन्डा रहेको बताए ।
कांग्रेसका लागि एमालेको विरासत तोड्ने अवसर आएको छ । गत निर्वाचनमा तीनमध्ये दुई क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी इलाम २ मार्फत पूर्वी नेपालमा पनि आफ्नो संगठन विस्तारको योजनामा छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र धरानका मेयर हर्क साङपाङको समर्थन पाएका स्वतन्त्र उम्मेदवारमार्फत पहिचानवादी आफ्नो एजेन्डा स्थापित गर्ने रणनीतिमा देखिन्छन् ।
मंसिर ०७९ को निर्वाचन परिणाम जे आए पनि यसपालिको उपनिर्वाचन आफ्नो पक्षमा आउने सबै दलको दाबी छ । एमाले उम्मेदवारलाई माओवादी र विप्लव नेतृत्वको नेकपाको समर्थन छ । अन्य दलबीच गठबन्धन भएको छैन । सत्तागठबन्धनमा रहेका दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका भिन्दाभिन्दै उम्मेदवार छन् ।
उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट १२ र स्वतन्त्र आठ गरी २० जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यहाँ दल तथा स्वतन्त्र रूपमा महिलाको उम्मेदवारी परेन । अद्यावधिक नामावलीअनुसार इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।
इलाम २ मा कांग्रेसका डम्बरबहादुर खड्का पुनः उम्मेदवार बनेका छन् । ४ मंसिर ०७९ को चुनावमा खड्का एमालेका नेम्वाङसँग एक सय १४ मतले पराजित भएका थिए । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ । कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले आफू नागरिकका हरेक समस्या समाधानमा लागिपरेको उम्मेदवार रहेकाले मत पाउनेमा ढुक्क रहेको बताए ।