spot_img

“विकासका नाममा कर्णाली सरकारले निम्त्याएकाे विनाश”

spot_img

रूपक यात्री,डाेल्पा दुनैँ  ( पहिलाे पटक प्रकाशित २०७६ असाेज ३ गते )

डाेल्पासदरमुकाम दुनै,असुरक्षित शहर
चारैतिर हरियाली डाँडाकाँडा, फेदीमा सुन्दर बजार । बजारको तिरैतिर बगिरहेको ठूली भेरी नदी । हेरौँ हेरौँ लाग्ने यो सुन्दरबजार हो डोल्पा सदरमुकाम दुनै बजार । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा । दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७ हजार ८ सय ८९ वर्ग किलोमिटर क्षेत्रफलसहित नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित छ । क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पाले नेपालको ५ दशमलव तीन छ प्रतिशत भूभाग ओगटेको छ । समुन्द्री सतहभन्दा १ हजार ५ सय २५ देखि ७ हजार ६ देखि २५ मिटर उचाइमा डोल्पा अवस्थित छ । सदरमुकाम दुनै बजार भने २ हजार ८५ मिटरको उचाइमा छ ।

ठूली भेरी नगरपालिकाको वडा नम्बर ३ मा पर्ने दुनै बजारमा करिब ५ सयभन्दा बढी घरदुरी छन् भने करिब ३ हजार मान्छे दुनै बजारमा बसोबास गर्ने गरेको सरोकारवाला बताउँछन् । दुनै बजारको छेवैबाट ठूली भेरी नदी बग्दछ । नदीबाट प्रवाह हुने चिसो हावा र सुसाइरहने आवाजले पर्यटकलाइ समेत मोहित बनाउँछ । हेर्दा जति सुन्दर देखिन्छ बजार, बर्खायाममा त्यति नै जोखिम पनि छ । वर्षायाममा झण्डै साढे एकलाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बढ्ने गर्छ । डोल्पा सदरमुकाम दुनै बजार नेपालकै उच्च जोखिमको सदरमुकाममध्ये पर्दछ । वर्षायाममा उर्लेर आउँने बाढीको यात्रामा वर्षौँवर्षदेखि स्थानीय बाँचिरहेका छन् ।

दुनैका स्थानीय वर्षायाममा बाढीले बगाउने डरको चिन्तामा निन्द्रा नै नलाग्ने गरेको बताउँछन् । दार्चुलाको घटना डोल्पा सदरमुकाममा दोहोरिनेमा स्थानीय वर्षायाममा सधैँ चिन्तित देखिन्छन् ।

सरोकारवालाका अनुसार, दुनै बजारमा एक सय घर बाढीको उच्च जोखिममा छन् । नदीको दोहन र नदी नै अतिक्रमण गरी घरनिर्माण गर्नाले पनि जोखिम बढदै गएको छ । दुनैका स्थानीयले जोखिमको बेवास्ता गर्दै हिँउदमा भेरी नदीको छेउबाटै तटबन्धन गरेर भए पनि घर बनाउने कार्य जारी राखेका छन् । हिउँदमा त्यसरी बनाइएका घर धेरै जोखिममा पर्ने गरेका छन् ।

नदीको दोहन र अतिक्रमण पहिले देखिनै भएकाले अहिले रोक्न नसकेको सरोकारवालाको भनाइ छ । दुनै बजारको संरक्षणको विषयमा गम्भीर भएको जिल्ला प्रशासन कार्यालय बताउँछ तर नदीको दोहन र अतिक्रमणबारे केही गर्न नसकेको आरोप प्रशासनलाई लागिरहेको छ । जोखिम हरेक वर्ष बढेको भन्दै जिल्ला प्रशासन कार्यलय डोल्पा नदी अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइने दाबी गर्छन् प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी ।

सदरमुकाम व्यवस्थित बनाउन लागिपरेको प्रशासनको दाबी छ । जोखिम न्युनिकरण गर्न नदीको दुवैतिर तारजाली निर्माणको काम भइरहेको प्रशासनको भनाइ छ । दुुनै बजारको संरक्षणका लागि भन्दै जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले पनि विभिन्न समयमा नदीको किनारमा तटबन्ध निर्माणको काम गर्छ । तर वर्षायाममा आएको बाढीले बगाएर लैजान्छ, स्थानीय सधैँ त्रासमै बाँचिरहेका छन् । सरकारले केही पहल गरिदिनु पर्ने भन्दै दुनै बजारका स्थानीय हारगुहार गरिरहेका छन् ।

जोखिम न्युनिकरणमा करोडौँ,झारा टार्ने काममा सीमित
त्यसो त दुनै बजार संरक्षणका लागि कामै नभएको भने होइन । बेलाबेला बजार संरक्षणका लागि करोडौँ रुपैयाँ आउँछ तर जोखिम उत्तिकै छ । दुनै बजार संरक्षण गर्न केन्द्रीय योजनाअन्तर्गत नदीको दुवै किनारमा २३ हजार ५ सय ८५ घनमिटर ढुंगा हालेर जाली भर्ने काम भ्याटसहित २७ करोड रुपैयाँको हाराहारीमा ठेक्का कन्काई थोदुङ जेबी कन्सट्रक्सनलाई दिइएको थियो । २७ करोड रुपैयाँको ठेक्का १६ करोड रुपैयाँमा मुख्य ठेकेदारले ठेक्का बेचेका थिए । जसका कारण कार्यक्रम गुणस्तरहीन हुने स्थानीयले आरोप पनि लगाइरहेका छन् । ११ करोड रुपैयाँ बढी नाफा लिएर रक्षा वल्र्ड कन्ट्रक्सन फर्मलाई ठेक्का जिम्मा दिइएपछि काम गुणस्तरहीन हुनसक्ने स्थानीयको आशंका छ । ठेकेदारले कामको सुरुवातमै कमसल काम गर्न थालेपछि यसको निगरानी र कामलाई गुणस्तर बनाउन स्थानीयस्तरबाटै वडा नम्बर ३ मा अनुगमन समितिसमेत बनाइएको थियो ।

यसरी दुनै बजार संरक्षणका लागि भन्दै करोडौँ रकम खर्च भइसकेको छ तर जोखिम हरेक वर्ष बढ्दो छ । दुनै बजार संरक्षणका लागि आएको रकममा व्यापक अनिमितता हुँदा सरकारी रकम बालुवामा पानी भइरहेको छ । विपत् व्यवस्थापनका नाममा विभिन्न समिति गठन गर्दै करोडौँ रकम घोटाला हुँदा सम्बन्धित निकायले पनि केही गर्न नसकेको गम्भीर आरोप स्थानीयले लगाइरहेका छन् ।

कमजोर प्राविधिक इस्टमेट र मुख्य ठेकेदारको स्वार्थका कारण दुनै बचाउ कार्यक्रम संकटमा परेको स्थानीय बताइरहेका छन् । दुनै बचाउ कार्यक्रमको सुरुवातमै गुणस्तर नभएको भन्दै चौतर्फी विरोध भएको थियो । तर १६ करोड रुपैयाँमा जिम्मा लिएका ठेकेदार भने मापदण्ड अनुसारको काम गर्ने ठेकेदारको दाबी छ । सरकारले बजेटमात्रै खन्याएर हुँदैन । कामको पनि अनुगमन गर्नु पर्ने देखिन्छ । अनुगमनकै अभावमा डोल्पाका हरेक विकास निर्माणका काममा घोटाला हुने गरेको डोल्पाली नागरिकको गुनासो छ ।

पहिरोको जोखिमबीच बस्तीमाथि सडक निर्माण ,
प्रदेश सरकारले उपेक्षा गरेको स्थानीयको आरोप

सदरमुकाम दुनै बजार हेर्दा जति सुन्दर छ । बजारको पेरिफेरीमा विचरण गर्ने हो भने त्यस्तो देखिदैँन । हिलाम्य सडक, फोहोर व्यवस्थापन र खानेपानीको चरम समस्या भोगिरहेको छ दुनै बजार । सदरमुकाम जस्तो ठाउँमा ढलको व्यवस्था छैन, ढल निर्माण नभएकै कारण फोहोर सबै भेरीमा फालिन्छ ।

यतिसम्मकी चर्पीको प्यान नै नदीतिर तेस्र्याइएको छ । सरोकारवाला निकाय भने बजार सरसफाइका नाममा नौटंककी गरेको देखिन्छ । ढल जति नदीमै फाल्नाले भेरी नदी दुर्गन्धित बन्दै गएको छ । दुनै बजारमा सार्वजनिक शौचालयसम्म छैन । जसका कारण खुला दिशामुक्त अभियानले पूर्णता पाएको देखिदैँन । सार्वजनिक शौचालय नहुँदा आन्तरिक र बाह्य पर्यटक पनि मर्कामा पर्ने गरेका छन् । तर सदरमुकामका समस्या समाधान गर्नतर्फ जिल्ला प्रशासन लागि परेको बताउँछ ।

केही समय यता त दुनैका रैथाने स्थानीय थप चिन्तित छन् । कारण हो ः कर्णाली प्रदेश सरकारले बस्तीमाथि बनाउन लागेको सडक । स्थानीयका अनुसार भेरी नदीका कारण दुनै बजार जोखिममा देखिएका बेला डोल्पा जिल्ला अदालतको सरस्वती मन्दिरमाथि भिरको बाटो हुँदै तिप्लासम्मको सडकले थप जोखिम बढेको स्थानीय बताउँछन् । प्रदेश सरकारले सडक निर्माण गर्ने अर्को विकल्प हुँदा पनि स्थानीयसँग परामर्श नै नगरी बस्तीमाथिबाट सडक निर्माण गरेर उपेक्षा गरिएको स्थानीय ओमेन्द्र केसीको भनाइ छ ।

स्थानीयका अनुसार, वर्षायाममा बेलाबेला पहिलो आइरहन्छ । सडक त बन्दैछ पहिरो कतिखेर आउने र बस्ती तथा खेतबारी र घरसमेत संकटमा पर्ने हो भन्ने पिरलो छ । विकास आवश्यक छ तर विकासमा नाममा बस्ती नै जोखिममा पार्नु पक्कै गैरजिम्मेवारीपनको पराकाष्टा हो । दुनैबजारको जोखिम कम गर्नेतर्फ ध्यान जान जरुरी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img