काठमाडौं,इलाम–२ र बझाङ–१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।
बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।
इलाम–२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि र बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
इलाम–२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ।
त्यस्तै बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएको थियो । नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।