spot_img

मुलुकभर आगलागी र डढेलो नियन्त्रणबाहिर हुँदा अवस्था भयावहःमृतक र घाइते बढ्दै,लाचार ३ तहका सरकार मुखदर्शक बन्दै

spot_img

वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ । शुक्रबार मात्र देशका दर्जनौँ ठाउँमा आगलागी भएको छ । गृह मन्त्रालयमातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक (नेपाल प्रहरीले संकलन गरेको) हेर्दा १४ वैशाखसम्म देशका चार सय २६ ठाउँमा आगलागी भएको छ भने दुई सय ४३ स्थानमा डढेलो बस्ती पसेको छ । १४ दिनमा आगलागीमा परी १० जनाले ज्यान गुमाएका छन् । ४३ घाइते भएका छन् । ६ सय ६५ घरमा आगलागी हुँदा नौ सय ४४ परिवार प्रभावित÷विस्थापित भएका छन् । २३ करोड ७३ लाखको भौतिक क्षति आकलन गरिएको छ ।

गत वर्ष यही अवधि (१–१४ वैशाख)मा तीन सय ३३ ठाउँमा आगलागी–डढेलो लाग्दा पाँचजनाको मृत्यु भएको थियो, २२ जना घाइते भएका थिए । एक सय २५ घर पूर्ण र ९१ घर आंशिक गरी दुई सय १६ घरमा आगलागी हुँदा तीन सय ९७ परिवार प्रभावित भएका थिए । एक सय चार गोठमा आगो लाग्दा दुई सय तीन चौपाया मरेका थिए भने १४ करोड १३ लाखको क्षति भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली खटाएको बताए । ‘डढेलो निभाउन तीन प्रकारका तालिम दिएका छौँ । वन उपभोक्ता र युवालाई आगो निभाउने तालिम दियौँ । आगो निभाउन खटिने सुरक्षा अंगलाई पनि फायर फाइटिङसम्बन्धी तालिम दिएका छौँ । त्यस्तै, जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई पनि तालिम दिएका छौँ,’ उनले भने, ‘यसपटक महोत्तरी, सप्तरी र गुल्मीमा आगलागीका ठूला घटना भएका छन् । ती क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन, आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली नै खटाएको छ ।

देशभरका वनजंगलमा डढेलो

देशभरका वनजंगलमा डढेलो छ । नासाले स्याटेलाइटबाट लिएको तस्बिरका आधारमा विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा तीन सय ७६ ठाउँमा डढेलो लागेको छ । यो कम्तीमा एक किलोमिटर क्षेत्रमा लागेको डढेलो हो । नक्सा हेर्दा पश्चिम तराई र पहाड तथा मध्यनेपालको पहाडी क्षेत्रमा डढेलो धेरै देखिन्छ । सामुदायिक र राष्ट्रिय वन मात्र होइन, संरक्षित वन (निकुञ्ज, आरक्ष)मा पनि डढेलो छ । सबैभन्दा बढी कैलालीमा ३० ठाउँमा डढेलो लागेको छ ।

त्यस्तै, धेरै डढेलो लागेका जिल्लामा सल्यान र सुर्खेतमा २८–२८, बर्दियामा २५, डडेल्धुरामा २४, दाङमा २३, प्युठानमा १७, डोटीमा १५ र उदयपुरमा १३ ठाउँमा डढेलो छ । बिहीबार चार सय ४० र बुधबार चार सय ६३ ठाउँमा डढेलो थियो । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालमा डढेलोमा मात्र (बस्तीमा भएका आगलागीबाहेक) बर्सेनि सातजनाको ज्यान जाने गरेको छ ।
को कहाँ चुके ?

डा. धर्मराज उप्रेती जलवायु तथा विपत् व्यवस्थापनविज्ञ
जनस्तरमा लापरबाही ः गहुँको छ्वाली जलाउन र फोहोर डढाउन लगाइएको आगो बस्ती र जंगलमा सल्किरहेको छ । जनस्तरमा यसरी भइरहेको लापरबाहीले घर मात्र जलेका छैनन्, मान्छेकै ज्यान गइरहेको छ । खर राम्रो हुने, घाँस पलाउँछ भनेर जंगलमा आगो लगाउने, चुरोटको ठुटा फ्याँक्ने गर्दा आगलागीले विकराल रूप लिएको हो ।

सामुदायिक वनको सक्रियता देखिएन ः यसपटक आगलागी वा डढेलो धेरै ठाउँमा हुन्छ भन्ने अनुमान थियो । देशभर २२ हजार सात सय सामुदायिक वन छन् । तर, आगो लाग्न नदिन सामुदायिक वनको भूमिका देखिएन । हरेक सामुदायिक वनले अग्निरेखा बनाएका हुन्छन् । यसले जंगलको डढेलो गाउँबस्ती पस्न दिँदैन । जंगलमा पनि ब्लक छुट्याइएको हुन्छ, एक ठाउँमा लागेको आगो अर्काे ब्लकमा सल्किन पाउँदैन । तर, सामुदायिक वनले अग्निरेखा सफा (डढेलो सल्किहाले अन्यत्र नफैलियोस् भनेर पातपतिंगर डढाएर बनाइएको रेखा) गरेन । यसले जंगल सखाप भएर बस्तीमा गइरहेको छ ।

पालिका र प्रदेश सरकारको भूमिका देखिएन ः आगो लागिसकेपछि निभाउनमा स्थानीय तह अगाडि छन् । तर, आगलागी हुन नदिनका लागि माइकिङ गर्ने, सचेतना फैलाउने काम गर्नुपर्ने हो, त्यो देखिएन । यसमा प्रदेश सरकारको त झनै भूमिका देखिएन ।

संघ सरकार लाचार ः आगलागीको प्रक्षेपण भइसकेपछि संघ सरकारले पूर्वतयारी गर्नुपथ्र्यो, गरेन । देशभर आगलागी, डढेलो लाग्न थालेपछि गृह प्रशासन र जिल्ला प्रशासनले सुरक्षाकर्मी परिचालन गर्नुपर्दथ्यो । अटेरी गर्ने, आगो लगाउनेलाई पक्रेर कारबाही गर्ने अभियान नै थालेको भए जनस्तरको लापरबाही कम हुन्थ्यो । प्रशासनले एक्सन लिएमा डराउँथे, तर यसप्रति ध्यान गएन । ठूलो क्षेत्रमा डढेलो, बस्ती नै सखाप हुने गरी आगलागी भइरहेको छ । दमकल प्रयोग गर्दा पनि निभाउन दिनभर लागिरहेको छ । यस्ता ठूला आगलागी भएका क्षेत्रमा सरकारले हेलिकोप्टरको बकेटमार्फत पनि आगो निभाउनुपर्ने हो । डढेलो बस्तीमा जानबाट रोक्न सकिन्थ्यो । यसमा सरकारले मतलब गरेको छैन । आगो लागिसकेपछि सुरक्षाकर्मी निभाउन जान्छन्, यथोचित उपकरण नहुँदा ज्यान गुमाउनुपरेको छ । डोल्पामा तीन सैनिकको ज्यान गयो । स्याउलाले आगो निभाउन पठाइन्छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img