काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि सत्ताविमुख भएको नेपाली कांग्रेसले सरकारमा फर्किने दाउ हेरिरहेको छ । नयाँ सत्ता समीकरणमा अविश्वास बढाउँदै सत्तामा फर्किने बाटो ढुकिरहेको छ । फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि रवि लामिछानेसम्मलाई प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले अहिले पनि सत्ताको रेस छाडेको छैन । प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि रविविरुद्ध सहकारी प्रकरण उचालेको कांग्रेसले अझै माधव नेपाललाई प्रधानमन्त्रीको ‘ललीपप’ देखाएर वैकल्पिक गठबन्धनको कसरत छाडेको छैन ।
प्रतिनिधिसभामा १० सीट रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बार्गेनिङ शक्ति पनि यही हो । वैकल्पिक समीकरणको विषयमा अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् । जुन कुरा दुवै पार्टीका नेताहरु स्वीकार्छन् ।
देउवाले सुरुमै एमाले, माओवादी र रास्वपालाई बाहिर राखेर माधव नेपाललाई प्रधानमन्त्री बनाउने अफर गरेका थिए । त्यसका लगि कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४–४ जोड्दा १३८ सांसद पुग्थ्यो । यो सरकार गठनको लागि आवश्यक संख्या हो । यो गठबन्धन बनाउन सके राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित केही स्वतन्त्र सांसदलाई पनि तान्न सकिने कांग्रेसको हिसाब छ । नेकपा एस अहिलेको गठबन्धनबाट बाहिरियो भने उपेन्द्र यादव नेतृत्वको जसपा पनि आउने कांग्रेसको बुझाइ छ ।
देउवासँग निरन्तर समानान्तर संवादमै रहेको नेपालले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग आफूलाई अपमान भएको भन्दै गठबन्धनमा उथलपुथल ल्याइदिने चेनावनी दिँदै आएका छन् । सहकार्य थाल्दा पनि ओलीसँग सम्बन्ध सुध्रिन नसकेपछि माधव बेचैन छन् । उनलाई कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किन पार्टीभित्रबाट मात्रै होइन, भूराजनीतिक दबाब पनि रहेको बताइन्छ । यद्यपि, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
नेपालले प्रचण्ड र ओलीसँग अब प्रचण्डपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने लिखित सहमति खोजेका छन् । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा त्यही सहमति थियो । माधव नेपालले प्रधानमन्त्रीको सुनिश्चितता मागेपछि ओलीले त्यसको विरोध गर्दै आएका छन् ।
ओलीलाई लक्षित गर्दै पार्टीको एक कार्यक्रममा मावधले भनेका थिए, ‘समाजवादीबाट प्रधानमन्त्री बन्छन् भनेर कतिपयको पेट पोल्न थालेको छ । न प्रधानमन्त्री बनिहाल्छन् कि भनेर यस्तो भएको हुनसक्छ । हामी परिस्थितिलाई आफ्नो अनुकूल बनाउनुपर्छ भन्नेमै छौं । कसैको मन भित्रभित्रै पोलेको छ भने अझै दनदनी पोलोस् । हामी त्यस्तो प्रवृत्तिका मानिसप्रति धिक्कार भन्छौं ।’
तर, देउवा माधव नेपाललाई अगाडि सारेर वैकल्पिक गठबन्धनको पक्षमा देखिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइराला, रमेश लेखकसहितका अधिकांश नेताहरु एमालेसँग मिलेर देशलाई स्थायित्व दिनुपर्ने पक्षमा छन् । त्यहीअनुसार दोस्रो तहका नेताहरुबीच निरन्तर संवाद चलिरहेको छ ।
यो कुरा प्रधानमन्त्री प्रचण्डले पनि चाल नपाएका होइनन्, कांग्रेसले एमालेसँग दूरी घटाएको संकेत पाएपछि प्रचण्डले पनि विभिन्न विकल्पमा छलफल थालेको बताइन्छ । कोशी प्रकरणदेखि ओलीसँग नजिएका कांग्रेस नेता डा. शेखर कोइराला बुधबार बालकोट पुगेका थिए । त्यसो त पछिल्ला दिनहरुमा ओली पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग नरम हुँदै गइरहेको राजनीतिक घटनाक्रमले देखाउँछ ।समीकरण बदलिने विषयको चर्चा उच्चस्तरमै पुगिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा दाबी गर्छन् ।
उनी भन्छन्, ‘प्रधानमन्त्रीले हामीसँग भएको समीकरणलाई तोडेर जानु चुनावमा गरेको वाचालाई समेत धोखा भएको भनेर हामीले निष्कर्ष निकालिसकेका छौं । यसलाई स्वीकार्न नसकेपछि अर्को गठबन्धन बन्छ भन्ने सुरुदेखि नै चर्चा भइरहेको विषय हो । त्यो भनेको अभ्यास गर्न बाँकी कांग्रेस–एमालेको मात्रै हो । दुई ठूला दल मिलेर बलियो सरकार बनाउनुपर्छ भनेर साथीहरु लाग्नुभएको छ ।’