काठमाडाैँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठकसमेत स्थगित भएको छ। संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसदहरुले नाराबाजी गरे।
बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर बेलतर्फ अघि बढेका थिए। सभामुखले बैठक चल्न दिन गरेको आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षले नाराबाजी जारी राखेपछि बैठक जेठ ३ गते बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ। गृहमन्त्री नै सहकारी ठगी प्रकरणमा मुछिएका भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो। सोहीअनुरुप कांग्रेसले संसदमा अवरोध जारी राखेको हो।
राष्ट्रिय सभामा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले नीति तथा कार्यक्रम टेबल गर्न पाएनन्
नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको राष्ट्रिय सभाको बैठक कांग्रेसले अवरोध गरेको हो।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो। सभाको दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेका थिए। कांग्रेसको अवरोधपछि प्रधानमन्त्रीले राष्ट्रिय सभामा नीति तथा कार्यक्रम टेबल गर्न पाएनन्।
सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। अवरोधका कारण राष्ट्रिय सभाको बैठक जेठ ३ गते दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित गरिएको छ।