काठमाडौँ,सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ।
सहकारी ठगीको मुद्दालाई सदन र सडकमा प्राथमिकताका साथ उठाइराखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको आन्तरिक काम ‘तामेली’मा राखेको छ । फागुन २१ मा प्रतिपक्षमा पुगेको कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समितिको माग जारी राख्दै आएको छ । यस विषयमा सरकार र विपक्ष कांग्रेसबिच विभिन्न चरणमा छलफल भए पनि निकास निस्किन सकेको छैन । सत्ता पक्ष लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न सहमत नहुँदा कांग्रेसले आफूलाई आक्रामक रुपमा प्रस्तुत गर्दै लगेको छ ।
सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षीसँग संसद्मा भिड्ने संकेत गरेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोध सहेर नबस्ने र कांग्रेसका बदमासीहरुबारे कुरा उठाउने बताएका हुन् ।
सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग राखेको नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समिति बनाउन सकारात्मक देखिएपछि कांग्रेसले १ जेठमा संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध गरेन तर त्यसलगत्तै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक भने कांग्रेसले अवरोध ग¥यो ।अर्को बैठक बिहीवार ११ बजेका लागि बोलाइएको छ । त्यसको अघिल्लो दिन संसदीय दलको बैठक राखेर एमाले अध्यक्ष ओलीले कांग्रेसको मागअनुसार संसदीय समिति गठन नगर्ने मात्र बताएनन्, कांग्रेसको अवरोध सहेर नबस्ने चेतावनी समेत दिएका छन् ।
‘हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझ्दा हुन्छ’ उनले चेतावनीको भाषामा भने, ‘संसद् अविलम्ब, भोलिबाट सुचारु हुनुपर्छ । कांग्रेसको बकवास सुनिरहन हामी तयार छैनौं ।’बिहीवार संसद्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने उनले बताए । ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ, होइन भने हामी बोल्छौं’, ओलीले सांसदहरुलाई निर्देशित गर्दै भनेका छन्, ‘कांग्रेसले चाहिं बोलिरहने, अर्कालाई आरोपित गरिरहने, अनि बकवासको प्रतिवाद पनि गर्न नपाउने ?’ कहीं कतै उजुरी र जाहेरी नपरेको भन्दै ओलीले गृहमन्त्री लामिछानेको बचाउ गरे । ‘अनि कांग्रेसले पाखुरा देखाएको भरमा, मसलको राजनीति गरेको भरमा हामी लत्रिदिनुपर्ने ?’ ओलीले भने, ‘आरोपित गरेको व्यक्तिले सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यही हो, (रवि लामिछानेले) बोल्न पाउनुपर्ने उनकाे दावी छ।