काठमाडौं,सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो ।
बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।अबदेखि कांग्रेसको मागलाई अन्य विपक्षी दलले पनि साथ दिने भएका हुन् ।
बैठकमा कांग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।
संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
नेपाल विद्यार्थी संघ नेविसंघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै रु’ प्रदर्शन गरेको छ ।हिजो पनि तरुण दल सहितको नेतृत्व सडकमा उत्रेको थियोे।
प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।