पश्चिम तराईमा ४२ डिग्री नाघ्यो, काठमाडौंमा झन्डै ३४ डिग्री
तातो हावा चलिरहेको पश्चिम नेपालमा तापक्रम ह्वात्तै बढेको छ । शनिबार पश्चिम तराईका प्रमुख सहरको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस नाघेको छ भने काठमाडौं, घोराही, वीरेन्द्रनगर र दिपायल उपत्यकाको तापक्रम पनि बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सबैभन्दा बढी नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस मापन भएको छ । बाँकेकै भगवानपुरमा ४२.२ र सिक्टा सिँचाइ आयोजना क्षेत्रमा ४२ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, धनगढीको अधिकतम तापक्रम ४२.१ र कैलालीकै साडेपानीमा ४१.४ डिग्री सेल्सियस पुगेको छ । भैरहवामा भने ३९.८ डिग्री सेल्सियस मापन भएको छ ।
तापक्रम तराईमा मात्र होइन, पहाडी क्षेत्रका खासगरी उपत्यकामा उच्च भएको छ । शनिबार दिपायलमा ४०.५, सुर्खेतको वीरेन्द्रनगरमा ४०.३ र दाङको घोराहीमा ३८.४ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, काठमाडौं र पोखरामा अधिकतम तापक्रम समान ३३.६ डिग्री सेल्सियस मापन भएको छ ।