अहिले सहकारीसँग सम्बन्धित विषयलाई लिएर सदन अवरुद्धको स्थितिमा छ । मैले केही दिनदेखि लगातार समीकरणभित्र र प्रतिपक्ष दलहरूसँग पनि छलफल गरिरहेको छु । कहीँ न कहीँ समस्याको समाधान होस् भनेर छलफल भइरहेको छ । भोलिसम्म (आइतबार) एउटा निकासतिर जान्छ र सदन खुल्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जुटेर संसद् खुल्ने विश्वास व्यक्त गरेका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले सहमति र संवादबाट विद्यमान समस्याको समाधान निस्कने बताए । ‘अहिले सहकारीसँग सम्बन्धित विषयलाई लिएर सदन अवरुद्धको स्थितिमा छ । मैले केही दिनदेखि लगातार समीकरणभित्र र प्रतिपक्ष दलहरूसँग पनि छलफल गरिरहेको छु,’ उनले भने, ‘कहीँ न कहीँ समस्याको समाधान होस् भनेर छलफल भइरहेको छ । भोलिसम्म एउटा निकासतिर जान्छ र सदन खुल्छ ।’
प्रधानमन्त्री प्रचण्डले चौथोपटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए । ७ जेठमा विश्वासको मत लिन लागेको उनले बताए । जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने उनले दाबी गरे । ‘एकजना कांग्रेसको नेताले मैले तेस्रोपटक विश्वासको मत लिँदा यो अवधिमा १२–१३ पटक विश्वासको मत लिनुपर्ने परिस्थिति हुन्छ कि भन्दै हुनुहुन्थ्यो । अहिले चौथोपटक लिनुपरेको हुनाले पाँचौँ, छैटौँ हुँदै जाने हो कि भन्नेजस्तो त देखिन्छ । तर, जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
झन्डै शतप्रतिशतसमेत विश्वासको मत प्राप्त भएको भन्दै प्रचण्डले घटबढ भने भइरहने बताए । ‘कहिले अलि बढ्छ, कहिले अलि घट्छ । घटबढ त भइरहन्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एकपटक त झन्डै शतप्रतिशत नै प्राप्त भयो । यसपटक पनि विश्वासको मत प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमअनुरूप बजेट आउने पनि बताए । ‘नीति तथा कार्यक्रमलाई बजेटले ठीक ढंगले सम्बोधन गरोस् भनेर सानो टिमलाई लगाएको छु । बजेट एकातिर, नीति तथा कार्यक्रम अर्कोतिर हुन नपाओस् । नीति तथा कार्यक्रमका मूलभूत विषयलाई बजेटले बोकोस्, सम्बोधन गरोस्,’ प्रधानमन्त्रीको भनाइ छ ।