काठमाडौँ,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो । सरकारले संसदीय छानबिन समिति बनाउन तयार भएपछि कांग्रेसले बोल्न दिएको हो ।
गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौती दिए । उनले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गरे । आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको उनले दावी गरे।
कांग्रेसलाई लामिछानेको प्रश्न– गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कसरी प्रधानमन्त्री बन्न मिल्छ? उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको लागि अफर गरेको आशय व्यक्त गरेका छन्।
सहकारीका विषयमा आफूप्रति उठेका विषयमा आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ भन्दै प्रश्न गरे। ‘म गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न कुन नैतिक रूपले मिल्ने रहेछ? म यो सदनमा सोध्न चाहन्छु। अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ,’ उनले भने।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गरेको भन्दै लामिछानेले भने, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ?’