काठमाडौं,सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक कांग्रेसले पुरानै अडान दोहोर्याएको छ । कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरु गृहमन्त्रीकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बताए ।
उनले भने, ’सहकारीको बिषयमा गृहमन्त्रीमाथि विभिन्न निकायमा छानबिन भइरहेको छ । उहाँ गृहमन्त्री भइसकेपछि छानबिन प्रभावकारी हुन सक्दैन भन्ने उद्देश्यका साथ कांग्रेसले सुरुदेखि नै समितिको माग गरेका छौं । हिजो कांग्रेसको बैठकले पनि त्यही कुरा स्पष्ट पारेका छौं ।’ उनले छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभएसम्म आफूहरु नमान्ने अडान सुनाए ।
उनले थपे, ‘हामीले जसकाबारेमा छानविन बनाउनुपर्छ भनेर उठाएका हौं । त्यो नभएसम्म हामी मान्दैनौं भनेका छौं । सत्तापक्षलाई आज पनि त्यही कुरा राखेका छौं । उहाँहरुले नाम नराखीकन छानबिनको दायर अगाडि बढाउँनुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । त्यो गोलमोटल भाषाले छानबिन अगाडि बढ्न सक्दैन । त्यसैले गृहमन्त्री अपचलनमा सहभागी हुनुहुन्छ भन्ने हामीले भनेका छौं । नभए कांग्रेसले गृहमन्त्रीमाथि यस्तो आरोप लगाएको छ भन्ने भाषा पारौं सकिन्छ भन्नेबारे पनि छलफल भएको छ ।’
उनले आज भएको छलफलमा उठेका कुराहरुबारे शीर्ष नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले भोलि बिहान फेरि बस्ने गरी उठेको बताए । उनका अनुसार बैठक भोलि बिहान ८ः३० बजे बस्नेछ ।
उनले भने, ‘कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो। त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो। उहाँहरूको आन्दोलनको सम्बोधन ठिक ढंगबाट होस् भन्ने चाहना। हामी पनि आज पनि छलफल गर्छौँ। उहाँहरू पनि गर्नुहुन्छ।’ उनले भोलिको बैठक कार्यदलको अन्तिम बनाएर ११ बजे सदन चलाउनेगरी आउन आफूहरुले भनेको बताए ।
रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भएको बताए।
उनले भने– ‘सहकारी पीडितको बचत फिर्ता गराउने सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन कानूनी र नीतिगत विषयमा निकास दिने कुरामा एक ठाउँमा पुगेका छौँ। ‘
उनले थप छलफल भोलिको बैठकमा हुने बताए।