‘दुईवटा नागरिकता भएका गृहमन्त्री र संसद् महासचिवकाे नागरिकता पनि छानविन गर्न माग
काठमाडौँ — सत्ताको बलमिच्याई र सहकारी ठगीको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकमा पनि विरोध सुरु गरेको छ । संघीय संसद्मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको कांग्रेसले आइतबारदेखि सडकमा पनि विरोध थालेको हो ।
केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनपछि हुने खुला सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको, आफूविरुद्ध समाचार लेखेको प्रतिसोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै प्रहरी पठाएर धरपकड गरेको तथा संसद्मा सम्बोधन गर्ने क्रममा कांग्रेसका नेता र सांसदहरुमाथि प्रमाणहीन लाञ्छना लगाइएको विषयलाई विरोध प्रदर्शनका क्रममा जोड दिएर उठाइएको छ । नेता कार्यकर्ताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने लगायत नाराहरु लेखिएका प्ले–कार्ड प्रदर्शन गरेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले खुलाए रवि र ओलीले संसदीय छानबिनमा समिति गठन गर्न नमान्नुकाे कारणहरूकाे खुलाशा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन एमाले अध्यक्ष केपी शर्माले चाहेको दाबी गरेका छन् । काठमाडौँको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनुहुन्छ,’ उनी भन्छन् ।
सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नचाहनुको चार कारण रहेको उनको भनाइ छ । ‘तपाईंकै एमालेका कैयौँ साथीहरू– जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ,’ शर्माले भने ।
शर्माले दुई वटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरे । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दा भन्दै कार्यकक्षबाट गिरफ्तार गरियो । दुई वटा पासपोर्ट भएर गृह मन्त्रालय चलाउने, दुई वटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?, उनको प्रश्न छ ।