काठमाडौँ — शुक्रबार देशका विभिन्न चार स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि मापन भएको छ । नेपालगन्जमा सबैभन्दा बढी ४३ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो बिहीबारभन्दा १.२ डिग्री सेल्सियसले कम हो ।
शुक्रबार नेपालगन्जसहित कैलालीको धनगढी, डोटीको दिपायल र सुर्खेतको वीरेन्द्रनगरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । धनगढीमा ४२.५, दिपायलमा ४१.२ र वीरेन्द्रनगरमा ४०.४ डिगी सेल्सियस मापन भएको महाशाखाको वेबसाइटमा उल्लेख छ । अघिल्लो दिन बिहीबार अधिकतम तापक्रम नेपालगन्जमा ४४.२, धनगढीमा ४४.१, वीरेन्द्रनगरमा ४१ र दाङको घोराहीमा ४०.२ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार नेपालगन्ज, धनगढी र वीरेन्द्रनगरमा केही मात्रामा घटे पनि दिपायलमा भने अघिल्लो दिनभन्दा २.६ डिग्री सेल्सियसले बढ्यो । बिहीबार दिपायलको अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस अथवा खतराको तहमुनि थियो ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार ४० डिग्री सेल्सियस वा सो भन्दा बढी दरको अधिकतम तापक्रमले खतराको संकेत गर्छ । एकै स्टेसनमा दुई दिनसम्मको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढीका दरले यथावत् रहेमा त्यस क्षेत्रमा तातो हावाको लहर अर्थात् ‘लू’ चलेको मानिन्छ । केही दिनयता लुम्बिनी र सुदूरपश्चिमको तराईका जिल्लामा ‘लू’ चलिरहेको अर्का मौसमविद् रोजन लामिछानेले बताए ।
अत्यधिक गर्मी घट्न बादल लाग्नुपर्छ कि त पानी पर्नुपर्छ । यस वर्षको मनसुन सुरु हुन झन्डै दुई साता बाँकी छँदा आइतबारसम्म बादल लाग्ने वा पानी पर्ने मौसमी प्रणाली नदेखिएको मौसमविद् लामिछानेले बताए । ‘केही दिनयता तातो लहर चलिरहेको छ, गर्मी बढिरहेको छ, जनजीवन र स्वास्थ्यमा असर पार्ने हुँदा सावधानी अपनाउनु जरुरी छ,’ उनले सुझाव दिए ।
महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन सार्वजनिक गर्दै कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र कपिलवस्तुमा तातो हावा लहरको चेतावनी जारी गरेको छ । ‘लू’ ले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने गर्छ । यसबाट बच्न गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह लिन सुझाइएको छ ।
अहिलेसम्मकै सबैभन्दा बढी अधिकतम तापक्रम मापन भने तीन दशकअघि रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको अभिलेखमा उल्लेख छ । सन् १९९५ जुन ५ अर्थात् ०५२ जेठ २२ मा सबैभन्दा धेरै धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको थियो । यो अधिकतम तापक्रम सन् १९७६ यताको सबैभन्दा उच्च रहेको लामिछानेले बताए ।