काठमाडौँ,आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति ९ः१५ बजे सुरु हुनेछ ।नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि नेदरल्यान्ड्स परिचित प्रतिद्वन्द्वी हो । नेपालले यसअघि पनि नेदरल्यान्ड्ससँग थुप्रै प्रतियोगिता खेलिसकेको छ ।
नेपालको दोस्रो सहभागिता
आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो ।
नेपाल र नेदरल्यान्ड्सको टोली
नेपाली टोली ः रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।
नेदरल्यान्ड्सको टोली ः स्कट एडवार्डस (कप्तान एवं विकेटकिपर), आर्यन दत्त, बास डी लिड, ड्यानियल डोरम, फ्रेड क्लासेन, लोगन भाव बिक, म्याक्स ओ’डड, माइकल लेभिट, पल भान मिकेरन, साइब्रान्ड इङ्गेलब्रिच्ट, तेजा निदामनुरु, टिम प्रिंगल, बिक्रम सिंह, भीम किङ्मा र वेस्ली बारेसी ।
टुँडिखेलमा क्रिकेट लाइभको तयारी, इन्दिरा जोशी र रचना रिमालको पनि प्रस्तुति रहने
काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त पहलमा विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्डस्बीचको खेल ठूलो पर्दामा निशुल्क देखाइने भएको छ । काठमाडौंको टुँडिखेल, तीनकुने र हाँडीगाउँगरी तीन स्थानमा खेल ठूलो पर्दामा देखाउने तयारी भइरहेको हो ।
त्यसका लागि अहिले प्रविधि जडानसहितको काम भइरहेको छ । खेल सुरु हुनुअघि कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतले टुँडिखेलमा सांगीतिक प्रस्तुतिसमेत दिनेछन् । खेल नेपाली समय अनुसार राति ९.१५ बजे सुरु हुनेछ ।