सन्दीपलाई टोलीमा समावेश गरेपछि युवा बलर प्रतिश जिसी ट्राभलिङ रिजर्भमा
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका बाँकी दुई खेल खेल्ने सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनी सोमबार नै वेस्ट इन्डिज पुगेको जनाएको छ । यसअघि सरकारले नै पहल गर्दा पनि अमेरिकाले उनलाई दुईपटक भिसा दिएन । त्यसपछि क्यानले सन्दीपलाई विश्वकपमा सहभागी गराउन वेस्ट इन्डिजको प्रक्रिया सुरु गरेको थियो । क्यानका सचिव पारस खड्काले विश्वकपका दुई खेलमा सहभागी हुन उनी वेस्ट इन्डिज पुगेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सन्दीपले विश्वकपअन्तर्गत आगामी शनिबार दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध सोमबार खेल्ने पक्का भएको खड्काले बताए । त्यसअघि बुधबार बिहान (३० जेठ) नेपालले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सन्दीपलाई समावेश गरेपछि युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको क्यानले आइसिसीलाई जानकारी गराएको छ ।
उच्च अदालत पाटनले गत १५ मेमा गरेको फैसलासँगै पूर्वघोषित टिमबाट युवा बलर प्रतिशलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली क्यानले आईसीसी सामु पेश गरेको थियो । ‘सन्दीप गत १६ मेदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको छ,’ क्यानको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी सन्दीपलाई वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उपस्थिति गराएको क्यानले जनाएको छ ।
सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट आफू वेस्ट इन्डिजमा पुगेको जानकारी दिएका छन् । उनले अमेरिकाको भिसा प्रक्रियाको क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।
वेस्ट इन्डिज पुगेपछि सन्दीप भन्छन्–
मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिन चाहन्छु । तर, दुर्भाग्यवश त्यो सफल हुन सकेन । ती सबै पक्षलाई पन्छाएर म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु । मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु । मेरो सहयात्रालाई सम्भव बनाउनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । क्यान अध्यक्ष चतुरबहादुर चन्द सर र सचिव पारस खड्का दाइको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको छु । नेपालले १० वर्षपछि विश्वकप क्रिकेट खेलिरहेको छ । यसलाई सफल बनाउन हामी सबैको प्रयास हुनेछ ।
संस्थाभित्रैबाट बदनाम गर्न खोजियो ः पारस
क्यानका सचिव खड्काले संस्थाभित्रका केही सदस्यले नै क्रिकेटको बदनाम गर्न खोजिरहेको आरोप लगाएका छन् । उनले ती सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । उनले क्यानमा आएको नौ महिनायता संस्था सही मार्गमा अघि बढिरहेको बताएका छन् । ‘कैयौँ चुनौती र कठिनाइलाई चिर्दै क्रिकेटको दिगो विकास र विस्तारतर्फ संघ चलिरहेको छ । यो समय आफैँमा महत्वपूर्ण छ । तर, पनि संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यले हरसम्भव प्रयास गरिरहनुभएको कार्य दुःखद छ,’ खड्काले भनेका छन् । उनले भ्रमको पछि नलागी आइसिसी–२० विश्वकप खेलिरहेको नेपाली टोलीलाई समर्थन गरी हौसला बढाउन आग्रह पनि गरेका छन् ।