spot_img

धनगढी,नेपालगञ्ज र वीरेन्द्रनगर लगाएत तराइकाे तापक्रम ४० डिग्रीभन्दा माथिःमनसुन १ हप्तामा देशभर फैलिने,वर्षा अधिक हुने संकेत

spot_img

काठमाण्डौ – देशका केही ठाउँमा हिजो तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चार वटा मापन केन्द्रमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हिजो बेलुका अधिकतम तापक्रम धनगढीमा ४४ डिग्री, नेपालगञ्जमा ४३ दशमलव ६, दीपायलमा ४० दशमलव ७ र वीरेन्द्रनगरमा ४० दशमलव ९ डिग्री मापन भएको छ । यस्तै दाङको घोराहीमा ३९ दशमलव ६, भैरहवामा ३९ दशमलव ८, सिमरामा ३७ दशमलव ५ र जनकपुरमा ३७ डिग्री पुगेको छ ।

हिजो काठमाण्डौमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौमा तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको यो वर्ष दोस्रो पटक हो । यो हप्ता पानी कम परेका कारण देशका धेरैजसो ठाउँमा अधिकतम तापक्रम बढेको महाशाखाले जनाएको छ । तोकिएको मितिभन्दा तीन दिन अघि हिजो पूर्वी नेपालबाट मनसुन भित्रिए पनि धेरैजसो क्षेत्रमा गर्मी महसुस गरिएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अबको एक÷दुई दिन मध्य र पश्चिम क्षेत्रमा तापक्रम उच्च नै रहने सम्भावना छ । पूर्वबाट भित्रिएको मनसुन विस्तारै पश्चिमतर्फ लाग्नेछ ।

पूर्वमा भित्रियो मनसुन, देशभर फैलिन एक साता लाग्ने
यो वर्षको मनसुन भित्रिएको छ । हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार मनसुन भित्रिएको हो ।

औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ । मनसुनी प्रणाली देशभर फैलन भने पाँच–सात दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।

‘मनसुनी प्रणाली धेरै सक्रिय पनि छैन । प्रणाली पूर्वबाट सर्ने क्रममा रहे पनि देशभर फैलन पाँच–सात दिनसम्म लाग्न सक्छ,’ महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘मनसुन देशभर फैलन पश्चिमी वायु कमजोर हुँदै जानुपर्छ ।’ देशको पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायु कायमै छ । मनसुनी हावा पूर्वबाट पश्चिम बहने गर्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ ।

यसपटक मनसुन चाँडै भित्रिए पनि देशभर फैलिएर झरी पर्न भने केही दिन लाग्ने देखिन्छ । गत वर्ष औसतभन्दा एक दिन ढिला ३१ जेठमा मनसुन भित्रिएर कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा सक्रिए बनेको थियो । तर, पश्चिम नेपालमा पुग्न २३ दिन लागेको थियो । नेपालमा औसतमा १३ जुनमा मनसुन भित्रिएर २ अक्टोबरमा अन्त्य हुने आँकलन गरिन्छ  ।

मनसुन आफैंमा वर्षा होइन । यो त केवल हावा वहने दिशा वा हावाको दिशा परिवर्तन हुनु हो । बर्खायाममा सुक्खा वा वर्षा कस्तो हुन्छ भनेर सामुन्द्रिक क्षेत्रमा हुने मौसमी गतिविधिमा पनि भर पर्छ  ।

मनसुनको प्रक्षेपण संशोधन ः अधिक वर्षा हुने क्षेत्र बढ्यो

बर्खामा अधिक वर्षा हुन सक्ने क्षेत्र बढेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आकलन संशोधन गर्दै कैलाली, बर्दिया र सुर्खेत तथा पूर्वमा झापा, मोरङ, सुनसरी, इलामको दक्षिणी भेग र सप्तरीको पूर्वी भेगमा अधिक वर्षाको आकलन गरेको हो । तर, यसअघि अधिक वर्षा हुन सक्ने भनिएको पूर्वी सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा र उदयपुरमा भने अब औसत वर्षा हुने गरी आकलन संशोधन गरिएको छ ।

यसअघि औसत वर्षा हुने आलकन गरिएको डडेल्धुराको पश्चिम–उत्तर, बैतडीको पूर्वी क्षेत्र, बझाङ, डोटीको उत्तरी क्षेत्रमा पनि औसतभन्दा धेरै, तर अधिकभन्दा कम वर्षाको आकलन गरिएको छ । कैलालीको चुरे, डोटीको पूर्वी, दक्षिण र अछामको दक्षिण क्षेत्र र दैलेखको पश्चिमी क्षेत्रमा पनि औसत मात्र वर्षा हुने आकलन गरिएको छ  । कपिलवस्तु, रुपन्देही तथा अर्घाखाँची र पाल्पाको दक्षिणी भेगमा पनि औसत मात्र पानी पर्ने देखिन्छ । काठमाडौं, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुली क्षेत्रमा पनि औसत वर्षाको आकलन गरिएको छ ।

मौसमविद् सुदर्शन हुमागाईंले क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलनअनुसार संशोधन गरिएको बताए । यसपटक बर्खामा पानी धेरै पर्ने भनिए पनि गर्मी भने धेरै खेप्नुपर्नेछ । अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने आकलन छ । मनसुनका सुरुवातमा कम पानी पर्ने र उत्तरार्धमा धेरै पर्न सक्ने देखिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img