अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ ।
डीएसपी पाठकले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० मा काउन्सिलिङका क्रममा किशोरीले राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएको सुनाए । ‘सुरुमा बेहोस हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पुर्याए पनि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।
किशोरी होसमा आएर घटनाबारे सबै कुरा बताएपछि प्रहरीको टोली थप अनुसन्धानका लागि घटनास्थलमै पुगेको थियो । त्यहाँ पुगेका डीएसपी पाठकले घटनास्थलको प्रकृति बताउँदै भने, ‘छाउगोठ बाहिर मकैका बोट पनि भाँचिएका छन् । केही रङ पनि देखिन्छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरीले स्थानीय अगुवाले घटना लुकाउन खोजेपछि पीडित किशोरीलाई नै बोकेर जिल्ला अस्पतालबाट घटनास्थलसम्म पुर्याउनुपरेको बताए ।
पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताइन् । भनिन्, ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ । गाउँमा छारेरोग लागेको र नजिक गए रोग सर्छ भनेर कसैले पनि नछोएको देखियो ।’ उनका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन् ।
ओसीएमसीमा लगेर काउन्सिलिङ गरेपछि मात्रै उनले घटनाबारे विस्तृतमा बताएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र त्यतिबेला नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको किशोरीले बताएकी थिइन् ।
घटनाबारे जानकार पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले किशोरी बिहान अबेरसम्म पनि नउठेपछि छाउगोठमा हेर्दा अचेत अवस्थामा भेटिएको तर गाउँका मान्छे कोही नजिक नगएको बताइन् । मंगलबार बिहान १० बजे कार्यपालिकाको बैठक बस्ने तयारी गरिरहेका बेला आफूलाई गाउँकै मान्छेले एक किशोरी छाउगोठमा बेहोस भएको जानकारी दिएपछि बैठक स्थगित गरेर सबै जनप्रतिनिधिसहित घटनास्थलमा पुगेको उनले बताइन् ।
‘सोमबार साँझ छिमेकीको घरमा जन्मदिन मनाउन गएकी रहेछिन् । सबैले नाचगान रमाइलो गरे । सायद उनी त्यताबाट फर्केपछि महिनावारी भइन् र गोठमा गइन् । त्यही मौकामा उनीमाथि यस्तो घटना भएको हुन सक्छ । म घटनास्थल पुग्दासम्म उनी छाउगोठमा बेहोस नै थिइन् ।’ उनले आफूहरू घटनास्थल पुग्दा पनि स्थानीय भने केही थाहा नपाएजसरी चुपचाप बसेको बताइन् । भनिन्, ‘के भएको हो भनेर सोधपुछ गर्दा गाउँका महिला, पुरुष, बुढापाका सबैले पहिले नै बेहोस हुने गर्थिन् । छारे रोग हो भन्ने एकैनासको जवाफ दिए ।’ किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा छाउगोठ मंगलबार नै भत्काइएको नगर प्रमुख चलाउनेले बताइन् ।