काठमाडाैँ, राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् ।बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेडवृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीको सङ्ख्या एक लाख २६ हजार चार सय ७९ रहेको छ । उनीहरुले आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । नतिजाअनुसार एक सय ८६ जनाले चार जीपीए ल्याएका छन् । जीपीए ३ दशमलव ६० देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या ३१ हजार दुई सय नौ रहेको छ ।
यस्तै ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ६८ हजार दुई सय ५६ रहेको छ । यस्तै २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ७८ हजार आठ सय ७४ रहेको छ । जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याउने ४१ हजार एक सय ७७ तथा जीपीए २ देखि २ दशमलव ४० ल्याउने दुई हजार नौ सय ५० रहेका छन् । यस्तै जीपीए १ दशमलव ६० देखि दुई ल्याउने विद्यार्थी छ जना रहेका छन् ।
यसैबीच नतिजा सार्वजनिक भएको तीन घण्टा बितिसक्दासमेत आइभीआर, एसएमएस र वेबसाइटमार्फत हेर्न नमिल्दा परीक्षार्थीलाई तनाव भएको छ । परीक्षा नियन्त्रण कार्यालय, नेपाल टेलिकमसहित विभिन्न संघसंस्थाको वेबसाइट, एसएमएस र आइभीआरमार्फत नतिजा हेर्न मिल्ने भनिएको थियो । प्राविधिक काम भैरहेकाले ढिला भइरहेको कार्यालयले जनाएको छ ।