चितवन, चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नुपरेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी भएको थियो । समूहले अण्डाको लागत मूल्य १६ रुपैयाँ ५६ पैसा निकालेको थियो ।
गएको हप्तादेखि किसानले ठूलो अण्डाको प्रतिक्रेट चार सय ९५ र मध्यम क्रेटको चार सय ७० रुपैयाँ पाउन थालेका छन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएका बताउनुभयो ।
यसअघि २०७६ सालमा किसानले लागत हाराहारी मूल्य पाएका थिए । त्यसपछिका दिनमा कोरोना महामारी, बर्ड फ्लुलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलको भनाइ छ ।
दुई वर्षअघि असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान शुरु गरेका थिए । त्यति बेला अण्डाको मूल्य प्रतिक्रेट दुई सय ३० रुपैयाँ थियो तर यो मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।रासस