चितवन — नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिन जाने बाटोमा पर्ने सिमलतालमा शुक्रबार झिसमिसे नहुँदै पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा सवार कम्तीमा ५० यात्रुको अवस्था अझै अज्ञात छ । पहिरोले बगाएका दुईमध्ये एउटा बसका तीन यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् ।
भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा भएको दुर्घटनामा दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण सार्वजनिक हुन सकेको छैन । वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा पु¥याएको हो ।
एञ्जल यातायातको बसमा २४ जना रहेको विवरण आए पनि १७ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको र गणपति यातायातको बसमा ३० जना सवार रहेको विवरण आए पनि २६ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले बताए । हामफालेर सकुशल बाँच्न सफल तीन यात्रु भने गणपति यातायातको बसका हुन् । पहिरोले दुई बस बगाएको घटना देखेका अर्का एक बसका चालकले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेका थिए । सीडीओका अनुसार जानकारी प्राप्त हुँदा बिहानको ४ः१५ बजेको थियो । घटनालगत्तै प्रहरीको टोली परिचालन भए पनि नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली ८ बजेपछि मात्रै खोजी कार्यमा जुटेको थियो ।
सशस्त्र प्रहरीका १२ गोताखोरसहित ७० जना र नेपाली सेनाका ५ गोताखोरसहित ५५ जना बेपत्ता यात्रुको खोजीमा जुटेका थिए । तर त्रिशूली नदीमा आएको बाढी र पानीको बहाव निकै तेज रहेका कारण गोताखोरहरूले बस डुबेको ठाउँसमेत पहिचान गर्न सकेका छैनन् ।
मनसुनजन्य विपत्बाट ११ करोड ४८ लाख ७६ हजारबराबरको आर्थिक क्षति भएको आकलन, बाढी–पहिरोले ४१ वटा पुलमा क्षति भएकाे छ। गत २८ जेठमा मनसुन सुरुयता बाढी, पहिरो र चट्याङमा १०३ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै पहिरोमा परेर ५२, बाढीले २८ र चट्याङमा परी २३ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ ।
एक महिनाको अवधिमा विपत्मा परी ११३ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान त्रिशूलीमा दुई बसका यात्रुबाहेक अन्य घटनामा ६ जना बेपत्ता भएका छन् ।
यो अवधिमा तीन हजार चार सय ७३ परिवार विस्थापित भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए । त्यस्तै, ११ करोड ४८ लाख ७६ हजारबराबरको आर्थिक क्षति भएको आकलन गरिएको छ । बाढी–पहिरोले ४१ वटा पुलमा क्षति पुगेको छ ।
सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको छ, जहाँ ३८ जनाले ज्यान गुमाएका छन् । लुम्बिनीमा २३, कोशीमा १९, सुदूरपश्चिममा सात, बागमतीमा ६, मधेशमा पाँच र कर्णालीमा चारजनाले ज्यान गुमाएका छन् । त्यस्तै, काठमाडौं उपत्यकामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।