काठमाडौं,६७ औं १२ बर्षे शेल रिवो डुग्ड्रा (शे)मेला २०८१ को आयोजक टोलिले कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन गरेर सम्पुर्ण जानकारी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महोत्सवको महत्व,आकर्षण र कार्यक्रम तालिका बारे सम्पुर्ण जानकारी दिएको हो।आयोजकद्वारा जारी बिज्ञप्ति जस्ताको तेस्तै
प्रेस विज्ञप्ति
६७ औं १२ बर्षे शेल रिवो डुग्ड्रा (शे)मेला २०८१
समयः २०८१ भदौ १६ गते देखि २१ गते(२०२४ सेप्टेबर १ देखि ६) सम्म
स्थानः शे फोक्सुण्डो गाउँपालिका वडा नं.३ शेल सुम्दो गुम्बा
१. पृष्ठभुमी
डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । समुद्री सतहबाट १३०० देखि ७,६२५ मिटर सम्मको उचाइमा अवस्थित डोल्पा भौगोलिक र साँस्कृतिक रुपमा तल्लो डोल्पा र उपल्लो डोल्पा गरी दुइ क्षेत्रले परिचित छ । संघिय संरचना अनुसार हाल डोल्पा जिल्लालाई आठ वटा स्थानीय तहहरुमा विभाजन गरिएको छ । जसअन्तर्गत उपल्लो डोल्पामा तिनवटा स्थानीय तहहरु शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिका रहेका छन् । स्थानीय भाषामा यस क्षेत्रलाई त्होल्पो भनिन्छ जसको अर्थ पहिरो जस्तो चारैतर्फबाट मानिस जम्मा हुनु हो । वि.सं. २०१७ साल भन्दा पहिले स्वदेशी तथा विदेशी लेखकहरुले निकालेका लेख, पुस्तक र नक्शाहरुमा त्होल्पोको सट्टा डोल्पो उल्लेख गरेको पाइन्छ । यसैका आधारबाट वि.सं. २०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । यही नाम परिवर्तन हुन गई हाल यस जिल्लालाई डोल्पा नामले चिनिन्छ ।
समग्र डोल्पा जिल्लाको ऐतिहासिक प्रादुर्भावको महत्व बोकेको त्होल्पो (डोल्पो) क्षेत्रका गाउँहरु समुद्री सतहदेखि ३७००–४३०० मिटर सम्मको उचाइमा रहेका छन् । यस क्षेत्रको अधिकांश भुगोल अर्ध–मरुभूमि जस्तै छन् । यहाँ विषम जलवायु र कठिन भुगोल भएकोले जाडो याममा यहाँको तापक्रम अधिकतम २० र न्युनतम –३० देखि –४० डिग्रि सेल्सियससम्म पुग्दछ । जसले गर्दा यहाँको बासिन्दा कष्टकरपुर्ण जिवन गुजार्न बाध्य छन् । विकासका दृष्ट्रिकोणले पछि परेको अधिकांश गाउँहरुमा आलु र जौ गरी दुई प्रकारका बाली मात्र उत्पादन हुने भएकाले कृषि उत्पादनबाट मात्र जिविकोपार्जन गर्न मुश्किल छ । साथै हाल गरिएको पशुपालनले मात्र पनि यहाँका बासिन्दाको आधारभूत जीविकोपार्जन मुस्किलले धानिरहेको अवस्था छ । यहाँको विषम जलवायु र कठिन भुगोलमा अनुकुलन गर्नको लागि स्थानीय संस्कृति तथा प्रकृतिसँग मिल्दोजुल्दो तवरले निर्माण गरिएका यहाँका घरहरू वास्तुकलाका आधारमा आफैंमा अद्वितीय छन् । अघिल्लो पिँढीबाट हस्तान्तरण भएको परम्परा, भाषा (डोल्पो बोली) र सीपलाई शुद्धतम रूपमा सुरक्षित राखिएको छ । कठिन जनजिवनका वावजुद पनि यो क्षेत्र प्राकृतिक, धार्मिक, साँस्कृतिक सौन्दर्यका हिसाबले भरिपुर्ण छ । यो ठाउँ यार्चागुम्बा लगायतका बहुमुल्य जडिवुटीहरु पाउनुका साथै लोपोन्मुख जिव हिउँचितुवा लगायतका अन्य वन्यजन्तुहरुको वासस्थान समेत हो । यी सबै दृष्ट्रिकोणबाट हेर्दा डोल्पो क्षेत्र, त्यहाँको संस्कृति र जिवनपद्धति नै पर्यटकका लागि आकर्षण हुन् ।
विकास र सहजताका हिसाबले डोल्पा जति पछाडी छ पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपुर्ण गन्तव्य हो । विश्व पर्यटन बजारमा नेपाल एउटा छुट्टै पहिचान बोकेको महन्वपुर्ण गन्तव्य हो भने डोल्पा जिल्ला विशेषगरी साहसिक पर्यटनको लागि हिडनल्याण्ड हो । डोल्पा विशेषगरी बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरुले विविध अनुभुति हासिल गर्न सक्दछन् । जसका लागि खस तथा मष्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमी आदीबाट अलौकिक अनुभुती लिन सकिन्छ । यी मध्ये उपल्लो डोल्पा(डोल्पो) क्षेत्र बाह्य पर्यटकहरुको आगमनको लागि झनै नौलोे गन्तव्य हो । यहाँ प्राकृतिक रुपमा पुथा हिमाल, कान्जिरोवा हिमाल, धवलागिरी, मुकोट, डाँफेसेल, नोर्वुकाङ्ग, शे शिखर, डोल्पो, चुरेन हिमाल, लगायत अन्य नाम नखुलेका सयौं हिमालहरु, फोक्सुन्डो ताल, फोक्सुन्डो झरना, घ्याकुचिन लगायतका हिमतालहरु छन् । त्यसैगरी धार्मिक रुपमा शे–रिवो डुग्ड्रा(क्रिष्टल माउन्टेनं), कुलापासाङ्ग, बुद्धरिवो, पावोरी (पावड्रुङ्गा) लगायत हजारौं वर्ष पुराना धार्मिक स्मारकहरु शे–गुम्बा, साम्लिङ्ग बोन गुम्बा, रिवोभुम्वा गुम्बा, बोनछोवा गुम्बा, याङ्गजेर गुम्बा लगायत अन्य गुम्बाहरु रहेका छन् । साँस्कृतिक रुपमा डोल्पो संस्कृति, आम्चि पद्दती, डोल्पो भाषा र भेषभुषा, स्याब्रो(डोल्पो नृत्य) याक्पा(क्याराभान) लगायत डोल्पो जनजीवन आदी पर्दछन् ।
२. शेल रिवो डुग्ड्रा शे मेला
डोल्पोमा बर्षभरि विविध मेला तथा उत्सवहरु हुने गर्दछन् । विविध मेला तथा उत्सवहरु मध्येको शेल रिवो डुग्ड्रा शे मेला भोट बर्मेली बौद्ध पात्रो अनुसार १२ बर्षमा एक पटक लाग्ने डोल्पोको सबै भन्दा महत्वपूर्ण र ठूलो मेला हो । यो मेला शेल रिवो डुग्ड्रा पर्वत (क्रिस्टल माउन्टेन) को धार्मिक परिक्रमा (कोरा) गरि रिवो डुग्ड्रा पर्वत (क्रिस्टल माउन्टेन)को धार्मिक ढोका खुलाउने जिक्तेन गोम्पो रिन्छेन पल (११४३–१२१७) का शिष्य तपस्वि ड्रुपतोप सिंगे यिशे ज्यूको सम्मान स्वरुप मनाउने गर्दछ । आफ्नो गुरुको मार्ग निर्देशन अनुरुप तपस्वि ड्रुपतोप सिंगे यिशे कैलाश पर्वतमा आफ्नो तपस्या प्राप्ति पछि डोल्पो शेल्रीमा आगमन भए । डोल्पो शेल्रीमा आगमन हुदाँ उहाँलाइ प्र्रतापि सिंहले स्वागत गरेको भन्ने पाइन्छ । पौराणिक कथा अनुसार, उनले आफ्नो सललाई पखेटामा परिणत गरी र शेल्री पर्वतको टुप्पोमा उडे ।
त्यहाँबाट उनले कैलाश पर्वत देखे र यो पद्य गाएः ‘‘ए मा हो! म मेरो गुरुले भविष्यवाणी गरेको ठाउँमा आइपुगेको छु। यो पर्वत महान समाया हो। यो पर्वत ज्ञान दर्पणको वासस्थान जस्तै हो । निल गगनमा हिम सिंहको गीत गुन्जिरहेको छ। यो प्रज्ञा वाणीको पबित्र ठाउँ हो, स्फटिकले बनेको स्तूपजस्तै स्वच्छ छ । यो धर्मधातु बुद्धि मनको क्षेत्र हो जहाँ तीन जराहरु, शान्तिमय र क्रोधित देवताहरूको वास हुन्छ। यो सबै सदगुणहरूको स्रोत हो, जहाँ तीन असाधारण प्रतिनिधित्वहरूले भरिएको छ । यो प्राणीहरूको मुक्ति दिने पर्वत निवास हो।’’ यो गीत गाएपछि ड्रुपतोप सिंगे यिशे सिंह चढेर शेल पर्वतको परिक्रमा गरे र शे पर्वत क्षेत्रको एउटा धार्मिक पथप्रदर्शक किताबको रचना गरे । जसको शिर्षक ‘‘पबित्र शेल्री रिवो डग्ड्राको धार्मिक सूचि’’ ‘‘ने छेन शेल गि रिवो डु«ग्ड्राहि कारछ्याग थोङ्वा दोएनदेन’’–གནས་ཆེན་ཤེལ་གྱི་རི་བོ་འབྲུག་སྒྲའི་དཀར་ཆག་མཐོང་བ་དོན་ལྡན། थियो ।
शे पर्वत बौद्ध मार्गिहरूको लागि, ईश्वरहरूको स्वर्गीय निवास हो। डोल्पो लगायत छिमेकी हिमाली क्षेत्र र तिब्बत देखि बौद्ध धर्मावलम्बीहरू वर्षभरि र विशेषगरी डु«ग्ल्हो (ड्रैगन वर्ष)मा कोरा (परिक्रमा) र पूजा गर्न आउँछन्। समयसँगै डोल्पो समुदायले यस पवित्र वर्षलाई मेलाको रुपमा मनाउन विशेष समारोह आयोजना गर्दै आएका छन् । पछिल्लो समय, ६६औँ १२ वर्षे शेल रिवो ड्रुग्ड्रा (शे) मेला २०१२ मा मनाइएको थियो। यस बर्षको ऐतिहासिक ६७ औं १२ बर्षे शे मेला “दर्शन शेल रिवो डुग्ड्राको, आर्जन शान्तिको” भन्ने मूल नाराकासाथ २०८१ भदौ १६ गते देखि २१ गते तदनुसार २०२४ सेप्टेम्बर १ देखि ६ सम्म शे फोक्सुण्डो गाउँपालिका वडा नं.३ शेलमा आयोजना गर्दैछौँ। शेल रिवो डुग्ड्र«ा (शे) मेलाको लोकप्रियता पनि बढ्दै गएको छ । हामीले यस १२ वर्षे शे मेलालाई विश्वभरका भक्तजन र आगन्तुकहरू मिलेर मनाउने आशा राखेकाछौं।
३. मेलाका मुख्य आकर्षणहरू
सर्वप्रथम, यस मेलाले डोल्पोका सांस्कृतिक सम्पदालाइ विशिष्ट रूपमा दर्साउनेछ । एतिहासिक शेल मेला सगैंत्सो (अर्थात् रिङ्गमो), पुङ्गमो, धो तराप तथा बिजेरका गाउँहरूमा बुद्धपूर्व बोनको अभैm पनि अभ्यास गरिन्छ । स्तूपजस्ता जिजिवोबर, कालसाङ्गवोबर तथा यङ्गड्रङ्गवोबर जस्ता बोन वास्तुशिल्पीय सम्पदाहरू यस भेगका मुख्य आध्यत्मिक ऐतिहासिक स्थल हुन् ।
बौद्ध न्यिङ्मापा सांस्कृतिक सम्पदा बौद्धपूर्व बोन धर्मसँगै शान्तिपूर्वक सहअस्तित्वमा छन् । त्यहाँ शेल गुम्बा, रिभो बम्पा गुम्बा, साम्लिङ्ग गुम्बा, गाकार गुम्बा, ज्याम्पा गुम्बा, याङ्खजेर गुम्बा र डोलुङ्ग गुम्बा जस्ता शताब्दीयौँ पुराना गुम्बाहरू पनि छन् । यी शताब्दीयौँ पुराना विहारहरू पूजा गर्ने स्थान हुनुका साथै, बोन तथा बौद्ध शिक्षाको माध्यमबाट आन्तरिक विकास, शान्ति तथा मेलमिलापप्रति डोल्पोवासीको समर्पण र निष्ठाका प्रमाण पनि हुन् ।
दोस्रो, यस मेलाले यस भेगको प्राकृतिक सम्पदालाई पनि जोड दिनेछ । सुन्दर हिउँले ढाकिएका घङ् चेन्रल्वा, घङ् नोर्बु, घङ् ताइका लगायतका हिमालहरू, निलो रङको फोक्सुन्डो ताल तथा ठुलो झरना यहाँका आकर्षण हुन् । डोल्पो, घमी ला (५,६९४ मि.), बागा ला (५१६० मि.), नुमा ला (५,३१० मि.), च्यार्को ला, मर्युम् ला, काङ्ग ला (५,३६० मि.) तथा शे ला (५,०१० मि.) र छोयला जस्ता उच्च मार्गहरू सहितको उच्च हिमाली क्षेत्र हो ।
तेस्रो, यस मेलामा स्थानीय सांस्कृतिक नृत्य (स्याब्डो), सङ्गीत, गीत तथा परम्परागत भेषभूषाको पनि प्रदर्शनी गरिनेछ ।
चौथो, यस मेलामा स्थानीय खाना, हस्तकला, कलाकृति, तथा घोडा दौड र तिरन्दाजी जस्ता परम्परागत खेलको पनि प्रस्तुति हुनेछ ।
मेलाका दौरान डोल्पोबासीका लागि तिन दिवसीय बहुविधात्मक निःशल्क स्वास्थ्य तथा अन्य सिविर पनि यहाँ सञ्चालन गरिनेछ ।
४. मेलाका उद्देश्यहरू
यस ६७ औं १२ बर्षे शेल्री डुग्ड्रा (शे)मेला २०८१ कोप्रमुख उद्देश्य भनेको ऐतिहासिक १२ बर्षे शेल्री डुग्ड्रा (शे) मेलालाई स्मरण गर्दै विभिन्न धर्म गुरु ज्युहरुबाट सु स्वस्थ्य, दिर्घायु , आपासि सद्भव र विश्व शान्तिको लागि पुजा, अविषेक र प्रवचन ग्रहण गर्दै शेल रिवो डुग्ड्राको परिक्रमा गर्ने र सगंसगैं डोल्पोबासीले सामना गर्नुपरेका चुनौती तथा सम्भावनाका बारे सरकारको ध्यान आकृष्ट गर्नका साथै डोल्पोमा समुदायमा आधारित गुणस्तरीय पर्यावरणीय पर्यटनलाई प्रवद्र्धन गर्नु हो । यस मेला वा महोत्सवका विशिष्ट उद्देश्यहरू यस प्रकारका छन्ः
क) शताब्दीऔँ पुराना धार्मिक, सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरूको संरक्षण गर्ने ।
ख) डोल्पो क्षेत्रको वर्तमान समस्याहरु उजागर गरि समाधान तथा दिगो बिकासका लागि पहल गर्ने ।
५..मेला आयोजना हुने स्थान
डोल्पा जिल्लाको शेफोक्सुण्डोगाउँपालिका वडा नं. ३ शेल गुम्बामा ।
६. ६७ औं१२ बर्षे शेल्री डुग्ड्रा (शे)मेला २०८१ मा सञ्चालन गरिने क्रियाकलापहरू
१. औंसिका दिन शेल रिवो डुग्ड्राको परिक्रमा गर्ने ।
२. बौद्ध धर्मका विभिन्न उच्च ओहदाका लामाहरू (रिम्पोचे)बाट अध्यात्मा र वातावरण सम्बन्धी प्रवचन तथा अभिषेक र जीवन सशक्तीकरण सम्बन्धी धार्मिक क्रियाकलाप ।
३. डोल्पो क्षेत्रका विभिन्न गुम्बाहरूबाट मुखौटा नृत्य र गाँउहरूबाट सांस्कृतिक नृत्यहरू (स्याब्डो)का साथै अन्य नृत्यहरू ।
४. (डोल्पो क्षेत्रबारे बनाइएका) वृत्तचित्रहरूको प्रदर्शनी ।
५. बृहत निशुल्क स्वास्थ्य सिविर ।
६. हस्तकला, परम्परागत साधनहरू, बुनाइका विधिहरू, निर्माण उपकरण, कलाकृतिहरू, चित्रकला, प्रस्तरकलाको प्रस्तुति ।
७. घोडा दौड, तिरन्दाजी (द्या ग्याग) आदि परम्परागत खेलहरुको प्रदर्शन ।
८. हिउँचितुवा जस्ता दुर्लभ वन्यजन्तु हेर्नका लागि हिमाल पैदल यात्रा ।
९. अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगीताहरू, स्थानीयवासी, स्थानीय प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वहरूसँग डोल्पोको विकासबारे छलफल ।
१०.डोल्पो क्षेत्रमा काम गर्ने विभिन्न विषय र क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान ।
७. सम्भावित कार्य तालिका
शेल्री डुग्ड्रा शेमेलाका कार्यक्रमलाई दुई वटा विषयवस्तुमा विभाजन गरिएको छः प्राकृतिक धार्मिक- सांस्कृतिक । प्राकृतिक विषयवस्तु अन्तर्गत शेल रिवो डुग्ड्रकोपरिक्रमा सगैं अवलोकनका लागि नयाँ ठाउँको खोजी र विद्यमान पदमार्गमा लामो पैदल यात्रामा यस महोत्सव केन्द्रित हुनेछ भने सांस्कृतिक विषयवस्तू अन्तर्गत तल उल्लेखित धार्मिक-सांस्कृतिक क्रियाकलापहरूको आयोजना र संयोजन गरिनेछ ।
पहिलो दिनः
१- बिहान १० बजे नेपाल सरकारका माननीय मन्त्रीहरू, माननीय संसदहरू तथा सरकारी तथा गैरसरकार संघ संस्थाका प्रतिनिधिहरूलाई आयोजक समिति र प्रतिनिधीहरूद्वारा स्वागत कार्यक्रम,
२- बिहान ११ बजेदेखि १२ः३० सम्म प्रमुख अतिथिद्वारा कार्यक्रमको औपचारिक समुद्घाटन कार्यक्रम,
दोश्रो दिनः
१- बिहानैदेखि १० बजेसम्म सम्पूर्ण तिर्थालुहरूद्वारा प्रसिद्ध शेल्री डुग्ड्रा पर्वत र बिचमा रहेका गुम्बाहरूको अवलोकन कार्यक्रम,
२- बिहान १०ः३० देखि ३७ औँ परम पूजनीय धर्म गुरु डिगुङ क्याब्गोन छेत्छाङ रिन्पोछेज्यूबाट सङ्क्रान्ति (फोवा) को आगम र प्रवचन,
३- दिनको १ः४५ देखि ३७ औँ परम पुजनिय धर्म गुरु डिगुङ छेत्छाङ रिन्पोछेबाट सङ्क्रान्ति (फोवा) को आगम र प्रवचनको साथै दीर्घायु अभिषेक प्रदान गरिने,
तेश्रो दिन-
१- बिहान ८ः३० बजेदेखि धर्म गुरु पुजनिय छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेज्यूबाट सैँतिस जिन पुत्र अभ्यास पुस्तकको माध्यमबाट प्रवचन
२- दिनको १ः४५ देखि पुजनिय धर्म गुरु क्याब्जे मेनरी पोन्लोप ठिन्ले ङिमा रिन्पोछेद्वारा अन्तराभव (बार्दो) को विषयमा प्रवचनको साथै अन्तमा ज्यारिमाको दीर्घायु अभिषेक प्रदान,
चौथो दिन-
१– बिहान ८ः३० बजेदेखि धर्म गुरु पूजनीय छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेज्यूबाट सैँतिस जिन पुत्र अभ्यास पुस्तकको माध्यमबाट प्रवचन,
२- दिनको १ः४५ देखि धनु तिर तिरन्जी खेल, घोडा धौड र अन्य बिभिन्न प्रकारका खेल मनोरञ्जन आयोजन गर्नुको साथै स्वास्थ्य शिविर विशेषगरी आँखा शिविरको साथमा शल्यक्रिया समेत गरिने,
पाँचौँ दिन-
१- बिहान ८ः३० बजेदेखि टुल्कु पेम्मा रिक्चाल रिन्पोछेद्वारा दीर्घायुको अभिषेक प्रदानको कार्यक्रम,
२- दिनको १ः४५ देखि ४ः०० बजेसम्म स्थानिय परम्परागत नाचगान र विभिन्न सांस्कृतिक कार्यक्रम ।
छैटौँ दिन-
१- पुजनिय धर्म गुरुहरू र अतिथिहरुको बिदाई कार्यक्रम,
२- दिनको १ बजेदेखि बिभिन्न स्थानिय परम्परागत नाचगान र सांस्कृतिक कार्यक्रमहरूको साथ साथै कार्यक्रमको औपचारिक समापन
नोटः यस मेलाको अवधिवर स्वस्थ्य शिविर अन्तर्गत पर्ने सम्पुर्ण स्वस्थ्य सेवा सुविधाहरु नियामित रुपमा सञ्चालन हुनेछन।
९. प्रतिफल
हामीले यस ६७ औं १२ बर्षेशेल्री डुग्ड्रा (शे)मेला २०८१ बाट निम्न कुराहरूको अपेक्षा गरेका छौँ ः
शेल्री डुग्ड्रा (शे)मेलाको एतिहासिक धार्मिक महत्वलाई विश्व सामु प्रवद्र्धन गर्दै विश्व जगत र सबै प्रणिको सु स्वस्थ्य, दिर्घायु , आपासि सद्भव र शान्तिको कमना हुनेछ।
स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, वनस्पति र रुखबिरुवा तथा पशुपन्छीको संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि हुनेछ ।
डोल्पोक्षेत्रका स्थानीयहरूबीच एकता कायम गर्दैसांस्कृतिक सम्पदा प्रति अपनत्वको भावना जगाउने तथा आगन्तुकहरूले डोल्पो क्षेत्र सम्बन्धी जानकारी पाउनेछन् ।
शिक्षा, स्वास्थ्य, यातायात, संस्कृति तथा प्रकृतिसँग सम्बन्धित विषयमा सामना गर्नुपरेका चुनौतीलाई सम्बोधन गर्दै डोल्पो भेगको दिगो विकासका लागि केन्द्रीय तथा प्रदेश सरकारको ध्यानकर्षण हुनेछ ।
पर्यटक आगमनको सङ्ख्यामा वृद्धि भई स्थानीय नागरीकहरुको जिविकोपार्जनमा सुधार हुनेछ । समग्र देशको राजस्व वृद्दिमा टेवा पुग्नेछ ।
यस भेगमा रहेका स्थानीय साना होटल तथा होमस्टे संचालनमा प्रोत्साहन मिल्नेछ ।
डोल्पो क्षेत्रमा आउने पर्यटकहरुका कारणले डोल्पा मात्र लाभान्वित नभइ देशको अन्य क्षेत्रहरु समेत आर्थिक रुपले लाभान्वित हुनेछन् ।
राष्ट्रीय तथा अन्तराष्ट्रीय जगतमा शेल्री डुग्ड्र(शे) मेला र डोल्पोको प्रचार प्रसार हुनेछ ।
१०. ठोस उपलब्धिहरू
६७ औं १२ बर्षेशेल्री डुग्ड्रा (शे)मेला २०८१ बाट निम्न कुराहरूको ठोस उपलब्धिहरु हुने अपेक्षा गरेका छौँ ः
१. शेल रिवो डुग्ड्रा (शे) मेला र डोल्पो क्षेत्रको सानो विवरण पुस्तिका तथा नयाँ पदमार्ग संलग्न गरिएको चाख लाग्दो लामो र छोटो पदयात्राका लागि भ्रमण तालिका सहितको नयाँ नक्सा ।
२. शेल रिवो डुग्ड्रा (शे) मेला र डोल्पो संस्कृति र प्रकृतिको लागि एउटा वृत्तचित्र निर्माण ।
३. शेल रिवो डुग्ड्र(शे) मेलाको वेबसाइट, कफि–टेबल किताब तथा ६८औं शेल रिवो डुग्ड्रा (शे) मेलाको लागि प्रयोग गर्ने गरी महोत्सवमा खिचिएका तस्बिरहरूको सङ्ग्रह तथा सांस्कृतिक र प्राकृतिक सम्पदाको अभिलेखीकरण।
४. दिगो पयर्टन विकासका लागि यस महोत्सव पश्चात डोल्पो पयर्टन विकास सम्बन्धि कार्यक्रमहरु हुनेछ।
५.पदमार्गमा चिन्ह लगाउने, स्थानीय उत्पादनको ब्रान्डिङ्, पर्यावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि, नयाँ पर्यटकीय गन्तव्य खोज तथा पहिचान आदि ।
आयोजकः
६७ औं१२ बर्षेशेल रीवो डुग्ड्र(शे)मेला २०८१ मुल आयोजक समिति
सह–आयोजकःशे–फोक्सुण्डो गाउँपालिका
डोल्पोबुद्ध गाउँपालिका छार्काताङसोङ गाउँपालिका