काठमाडौँ — बाढी, पहिरोलगायतका मनसुनजन्य विपद्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
विपद्मा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई÷दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।
बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।
बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् ।विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक विभागकानुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । विभागले रात्रिको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा नै असुरक्षित हुने भन्दै आवातजावत नगर्न सुझाव दिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।