सर्लाही,गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुमध्ये केही बेपत्ता छने भने केहीले ज्यान गुमाए। नदीमा बससँगै धेरैको जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो ।
जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । करिब आठ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षका उनको श्रीमती दुई छोरी र एक छोरा छन् ।
आर्थिक सङ्कटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुबा, ठूलोबुबा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुबा सरपलाल महरा सम्झन्छन् ।
पीडित परिवार अझै उनीहरु फर्किने आशमा बसिरेका छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका–३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका–३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन् । यतिका दिन भइसक्दासमेत फेला नपरेका उनीहरु जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् ।
बेपत्ता रामा दासको बुबा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा थिए भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्र्याक्टर जोत्ने लगाएको काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाईको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए ।
उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौँ बोलाएको आमा बताउछिन् । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा परेकी उनले मलीन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गरिन् । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको परिवार जितेन्द्र दुर्घटनामा परेपछि सङ्कटमा परेको छ ।

















