spot_img

ओली समूहमा लागेपछि एकमन्त्रीकाे पद फुस्कियाे

spot_img

काठमाडाैँ,
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनपछि ओली समूहमा लागेका बोहराले राजीनामा दिएका हुन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले मन्त्री पदमा बसिरहँदा जनमतको अपमान हुने भन्दै राजीनामाको घोषणा गरे ।

मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिपछि अर्थमन्त्रीका रूपमा स्वायत्त तरिकाले काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनले बताए । ‘दृढ इच्छाशक्ति र यथेष्ट प्रयत्नका वावजुद जनभावनाअनुसार काम गर्न विभिन्न चुनौतिको सामना गर्नुप¥यो’ बोहराले भने, ‘यस्तो अवस्थामा मन्त्री पदमा बसिरहँदा जनमतको अपमान हुने देखिएकाले राजीनामा दिएको हुँ ।’

उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेलगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामापत्र बुझाए । नेकपा (ओली समूह)ले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । तर, उनी केही दिन मौन बसेका थिए भने केन्द्रीय सदस्यको शपथ पनि लिएका थिएनन् । ओली समूहमा खुलेपछि भने उनले आफ्नो समूहका अन्य ६ जना प्रदेश सभा सदस्यलाई सँगै राखेर राजीनामा घोषणा गरे ।

यसअघि आफू तटस्थ रहेको बताउँदै आएका उनी ओली समूहमा लाग्नुअघि काठमाडौंमा प्रधानमन्त्रीसँग समेत छलफल गरेर फर्केका थिए । अछामबाट निर्वाचित बोहरा नेकपा एकीकरणअघि पूर्वमाओवादीबाट मन्त्री बनेका हुन् । उनी संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टनिकट मानिन्छन् । भट्ट ओली समूहमा लागेका छन् ।

ओली समूहमा खुलेका प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि पदबाट हटाएका थिए । दुईजना मन्त्री बाहिरिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपाको ओली पक्षविहीन बनेको छ । सात सदस्यीय प्रदेश सरकारमा मुख्यमन्त्रीसहित तीनजना मन्त्री पूर्वमाओवादीबाट र चारजना पूर्वएमालेबाट बनेका थिए । मुख्यमन्त्रीसहित पाँचजना मन्त्री प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा पनि नेकपा ओली समूह अल्पमतमा छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुखबाहेक नेकपाका ३८ सदस्य छन् । तीमध्ये ओली समूहमा हालसम्म सातजना खुलेका छन् । यद्यपि, यो संख्या बढ्ने उक्त समूहको दाबी छ । ‘केही साथीहरू विभिन्न कारणले खुल्न सक्नु भएको छैन । हाम्रो संख्या बढ्छ ।’ बोहराले भने, ‘त्यो केही दिनमै थाहा हुन्छ ।’
नेकपा कैलालीका अध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य रतन थापा, प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी, लीलाधर भट्ट, ग्याल्बुसिंह बोहरा र महेशदत्त जोशी ओली समूहमा लागेका छन् ।

संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतकसहित ३० जना प्रचण्ड–नेपाल समूहमा लागेका छन् । प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् ।

लगानीमैत्री संरचना निर्माण गरेको दाबी
बोहराले आफ्नो कार्यकालमा प्रदेशभित्रको आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न लगानीमैत्री कानुन र संरचना तयार भएको दाबी गरे । देशको कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको हिस्सा बढ्नुलाई उनले आफ्नो उपलब्धिमा राखेका छन् ।

नेपाल मानव विकास प्रतिवेदनअनुसार सन् २०१४ मा देशको कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान ६.३७ रहेकोमा अहिले ७.२१ प्रतिशत पुगेको उनले बताए । गत आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन वृद्धि २.२९ प्रतिशत रहँदा सबैभन्दा बढी सुदूरपश्चिममा ४.१ प्रतिशत रहनु उपलब्धि भएको उनको भनाइ छ ।

बेरोजगार र विदेशबाट फर्केका युवालाई विनाधितो ऋण लगानी गर्न एक अर्ब ४० करोडको स्वरोजगार कोषको स्थापना र साना तथा मझौला व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी सहुलियत दरमा उपलब्ध गराउने गरी पुनर्कर्जाको व्यवस्था गरेको पनि उनले बताए ।

कोरोना संक्रमणबाट शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाई आर्थिक क्रियाकलाप र लगानी बढाउन सहयोग पुग्ने गरी लगानीमैत्री वातावरणको निर्माण, उद्योग तथा नागरिकलाई छुट र सहुलियत प्रदान गर्न राजस्व नीति र कर प्रणालीमा आफूले सुधार गरेको बोहराले दाबी गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img