काठमाडाैँ, गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापाको दमक–१ आफ्नै निवासमा हिजो बेलुका बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो । वि.सं. १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो ।
उहाँले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाउनुभएको थियो । उहाँ पूर्वेली लोकभाकाका गीत गाउनुहुन्थ्यो । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।
उहाँ चित्रकार र अभिनेता पनि हुनुहुन्थ्यो । चलचित्र ‘हिजो आज भोलि’ मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । उहाँले नौवटा चलचित्रमा अभिनय गर्नुभएको थियो । वि.सं.२०१३ मा उहाँको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो ।
नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्नु भएको र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पु¥याउनुभएका उहाँलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो ।रासस