अमेरिकी संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो। उक्त बैठकमा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोक्नु परेको थियो।
प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए।यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ।
आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ’आइ लभ यू’ लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ।
त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ। यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए।
बराक ओबामाः इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्। यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा भएको दिनको रूपमा सम्झिइनेछ।
विल क्लिन्टनः जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ। जर्ज डब्ल्यु बुसः चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन… यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो।
के मन्त्रिपरिषद्ले ट्रम्पलाई हटाउँछ?
बीबीसीको साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्पको मन्त्रिपरिषद्ले संविधानको २५औँ संशोधनलाई ब्युँताउन सक्ने चर्चा चलेको छ।
त्यस्तो व्यवस्था त्यतिखेर ब्युँताइन्छ जतिखेर राष्ट्रपतिले आफ्ना जिम्मेवारी वहन गर्न सक्दैनन्। र राष्ट्रपतिको जिम्मेवारी अन्यत्र सर्छ। त्यस्तो हकमा बहुमत मन्त्रीहरू र उपराष्ट्रपति माइक पेन्सले संसद्का नेताहरूलाई पत्र लेखेर ट्रम्प अक्षम रहेको भन्दै उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बनाउन सक्छन्।यस्तो व्यवस्था सन् १९६७ यता ब्युँताइएको छैन। र हालसम्म पेन्सलाई औपचारिक रूपमा त्यस्तो केही बुझाइएको छ।
राजीनामाहरू
बढ्दो राजनीतिक विकासक्रममाझ ह्वाइटहाउसका सहायक प्रेस सेक्रेटरी सारा म्याथ्युजले पदबाट राजीनामा दिएकी छन्। उनले विज्ञप्तिमा लेखेकी छन्ः “कङ्ग्रेसका सभाकक्षमा काम गरेकी व्यक्तिका नाताले आज मैले जे देखेँ त्यसले मलाई विक्षिप्त बनाएको छ।“ घटनापछि यसअघि प्रथम महिला मिलेनिया ट्रम्पका चीफ अफ स्टाफ स्टेफनी ग्रिसमले समेत पदबाट राजीनामा दिएकी छन्।
दुई शब्दाब्दीपछि हमला
अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ। सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो।
विश्वभरबाट निन्दा
अमेरिकी संसद्मा भएको घटनाको व्यापक रूपमा निन्दा भएको छ। युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्।
आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्। नेटोका महासचिवले चाहिँ त्यस घटनालाई स्तब्ध पार्ने खालको भनेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन्।
फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई ’अन(अमेरिकन’ अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो बताएका छन्। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ’प्रजातन्त्रमाथिको हमला’ भन्दै त्यसबाट ’क्यानेडियालीहरू विक्षिप्त भएको’ बताएका छन्।
घटना के हो?
अमेरिकी संसद्मा गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न कङ्ग्रेस बैठक बसिरहेको थियो। संसद् बैठक भइरहेकै बेला राष्ट्रपति ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले उक्त भवनमा हमला गरेर हङ्गामा गरेका थिए।
उक्त हिंसा सुरु भएको घण्टौँपछि राष्ट्रपति ट्रम्पले भिडिओ जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए। अमेरिकी राष्ट्रपति चुनिएका जो बाइडनले अमेरिकी लोकतन्त्रमाथि अभूतपूर्व हमला गरिएको बताएका छन्।
उनले अमेरिकालाई विश्वले हेरिरहेको बताउँदै त्यसले आफूलाई स्तब्ध पारेको बताए। उनले भने, “यो अराजकता हो। यो उथलपुथल हो। यो देशद्रोहको नजिकको कुरा हो।“