सडक सीमा क्षेत्रमा पर्ने घरधनीहरूले अदालतमा मुद्दा दर्ता गरेपछि विगत तीन वर्षभन्दा बढी समयदेखि ठेकेदारले काम अगाडि बढाउन सकेका थिएनन् ।अब भने सडक विस्तारका लागि घर भत्काउन बाटो खुलेको डिभिजन सडक प्रमुख इञ्जिनीयर जयलाल मरासिनीले बताए ।
रिट निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले ‘जग्गाहरूमा निवेदकहरूले हाल साविक गराई नयाँ जग्गाधनी प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिँदा मिति २०७७ असार ९ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भनेको छ ।उक्त मुद्दामा निवेदक घरधनीहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, कृष्णप्रसाद सापकोटा, हिरा रेग्मी तथा अधिवक्ताहरू गोकर्णसिंह थापा र तेजनाथ धमलाले बहस गरेका थिए ।विपक्षी व्यापारिक मार्ग विस्तार बेलहिया–बुटवल सडक आयोजना कार्यालय मणिग्राम रुपन्देहीका तर्फबाट नायव महान्यायधिवक्ता डा. टेकबहादुर घिमिरे, उपन्यायधिवक्ता गंगाप्रसाद पौडेल र अधिवक्ता गोविन्दप्रसाद मरासिनीले बहस गरेका थिए । त्यस्तै, बुटवल उपमहानगरपालिकाका तर्फबाट खुमाकान्त पौडेल र लेखनाथ ढकालले बहस गरेका थिए ।
२२ साउन २०७६ मा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले जिल्ला प्रशासन कार्यालयमार्फत कानूनी प्रक्रिया पु¥याएर मुआब्जा दिएपछि मात्र सडक बिस्तार कार्य गर्नु भनी दिएको आदेशका कारण बुटवलको सडक खण्ड विस्तारका लागि घर भत्काउने काम रोकिएको थियो । यो सडकमा अहिले ३११ घर भत्काउनुपर्ने अवस्थामा रहे पनि केही घरधनीहरूले आफैँ भत्काएका छन् ।अदालतको आदेशअनुसार निवेदकका कागजात अध्ययन गर्दा १ सय ५६ जना निवेदकमध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको सडक विस्तार आयोजनाले ठहर गरेको थियो । बाँकी ६ जनाको १५ दिनभित्रै कागजात माग गरिएको भएपनि प्रमाण पेश गरेका थिएनन् ।
मरासिनीले अब सडक विस्तारको काम छिट्टै अगाडि बढ्ने बताए । उनले भने, ‘धेरै घरधनीहरूले आफैँ घर भत्काएका छन् । भत्काउनु पर्नेहरूले पनि आफैँ शुरू गरेका छन् । अब सडक विस्तारले गति लिन्छ ।’
सडक विस्तारको काम बिरुवा कञ्चनजंघा जेभी कन्ट्रक्सनले लिएको छ ।सडकको बजेट ४७ करोड रुपैयाँ छ । सडक विस्तार रोकिँदा बुटवल बजार क्षेत्र कुरुप बनेको थियो । यो सडक विस्तारको कार्यमा अवरोध नगर्न घरधनीहरूलाई यस क्षेत्रका सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गर्दै आएका थिए ।
बुटवल–बेलाहिया सडक र चौराहा गोलपार्क सडक विस्तारसँगै अगाडि बढेका थिए । बुटवल बेलहिया सडक विस्तार आयोजनाले अबको दुई वर्षसम्ममा बुटवलका सडक चिटिक्क हुने बताएको छ ।