पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी,कार्यकर्तालाइ अलर्ट रहन निर्देशनःप्रधानमन्त्रीलाइ बसेर कुरा गर्न आग्रह
काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘.. ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।
आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । ‘कानूनी रुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सत्यका लागि लड्न तयार भएर बसेको छु’, लामिछानेले भने ।
सरकारविरुद्ध लडेर जित्ने पनि उनले बताए । भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ ।’ त्यसका निम्ति चीनमा गएको आफ्ना नेताहरु स्वदेश फर्कने तयारी गरेको जानकारी समेत उनले दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन् । आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक पक्राउ परेपछि अब प्रहरी आफ्नो पछि लागेको संकेत पाएका लामिछानेले आइतबार राति सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई बसेर संवाद गर्न प्रस्ताव गरेका हुन् ।
रास्वपा सभापति लामिछानेले सरकारले सहकारीपीडितलाई न्याय दिने नियतले नभइ प्रतिसोध राखेको आरोप समेत लगाएका छन् ।लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ’न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…।’
प्रधानमन्त्री ओली हाल अमेरिकाको न्यूयोर्कमा छन् । उनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन त्यहाँ पुगेका हुन् ।प्रधानमन्त्री ओली विदेशमा रहेकै बेला आइतबार गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले सहकारी ठगी सम्बन्धी ससदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थालेको हो । प्रहरीले आइतबार दिउँसो लामिछानेका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरी आइतबार साँझ नै कास्की पु¥याएको छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -