काठमाडौँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरेका छन् ।बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए ।
‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु । केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ’, विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने ।
उनले दसैँ लगत्तै बस्ने केन्द्रीय समिति बैठक पार्टीको लागि माइलस्टोन(कोशेढुंगा) हुने दाबी समेत गरे । ‘केन्द्रीय समिति बैठक माइलस्टोन हुनेछ । देशमा देखा परको राजनीतिक समस्या हल गर्ने गरी निर्णय गर्नेछ’, उनले भने, ‘यति बेला नै क्रान्तिकारीको सम्मेलन राख्नुको ठुलो अर्थ छ । तपाईँको भव्यताका साथ सम्मेलन सफल गर्नुहोस् । यसले हामीलाई थप ऊर्जा मिल्नेछ ।’
विद्यार्थीको सम्मेलनमा प्रचण्डः मैले यसलाई जिताउनुपर्छ भनेको छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वमा आफ्नो कुनै रोजाइ नभएको बताएका छन् । बिहीबार सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न आग्रह गरे । नेतृत्व, खासगरी अध्यक्षका दाबेदारहरुलाई भेटेर उनीहरुको बुझाइ र भोलिको योजना सुनेको भन्दै उनले भने, ‘मैले अहिलेसम्म यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन ।’
पार्टी कार्यालयमा भएको छलफलमा पनि विद्यार्थीमा कसैले गटबन्दी नगर्ने सहमति भएको उनले बताए । विद्यार्थी संगठनका नेताहरुले नै पार्टीले सहजीकरण गरिदिनुप¥यो भनेर आग्रह गरे भूमिका खेलन सकिने भन्दै उनले भने, ‘तर यसलाई बनाउनुस् भनेर हामी कसैले गुटबन्दी गर्ने छैन भनेर कार्यालयमा प्रतिवद्धता व्यक्त गरेका छौं ।’
पार्टी कार्यालयमा भएका नेताहरुले फलानो भए ठीक छ, नभए हुँदैन भनेर नभन्ने उनले बताए । सम्मेलनमा प्रचण्डले भने, ‘विद्यार्थी साथीहरुलाई आफ्नो विवेक प्रयोग गर्नुस् । सक्नुहुन्छ, सहमति जुटाउनुस्, सक्नुहन्न निर्वाचनमा जानुस् ।’
राष्ट्रिय सम्मेलनले जसलाई नेता छनोट गर्छ, उसलाई पार्टीको समर्थन रहने उनले बताए । गुटबन्दीका कारण धेरै दुःख पाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो विद्यार्थीहरुका लागि गुटबन्दीबाट पर जाने अवसर पनि हो ।’