काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो । संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोग लागेका दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । शर्मा पक्षबाट मदन भुल, क्षितिज सापकोटा, नारायण खनाल अध्यक्षका आकांक्षी छन् । उनीहरूमध्ये एक जनालाई मात्र अघि सार्ने गरी शर्मा पक्षले गृहकार्य गरिरहेको छ ।
निवर्तमान अध्यक्ष पञ्चा सिंहको नेतृत्वविरुद्ध समानान्तर समिति चलाएका पवन कार्कीले पनि अध्यक्षमा आकांक्षा राखेका छन् । कार्की वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । अच्युत भट्ट, केशव रावल, जीपी मैनाली, इन्द्र भुसाल, प्रवीणा अधिकारी पनि अध्यक्षका आकांक्षी हुन् । भट्ट, रावल र अधिकारीले भने कुनै पक्षमा नलागी साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । ‘संगठनमा गुटबन्दी अन्त्य गरी स्वतन्त्र प्रतिस्पर्धा हुनुपर्छ,’ रावलले भने । दन्तचिकित्सक भट्टले संगठनलाई सशक्त नेतृत्व दिन खुला प्रतिस्पर्धा हुनुपर्ने बताए । अहिले आकांक्षी धेरै देखिए पनि नेतृत्वका लागि मुख्यगरी संस्थापन र शर्मा पक्षबीच प्रतिस्पर्धा हुने अखिलका नेताहरू बताउँछन् ।
संस्थापन पक्षबाट महासचिवमा सुधीन पौडेल, सञ्जय कालधन, प्रशून कार्कीलगायत आकांक्षी देखिएका छन् भने शर्मा पक्षबाट हेमन्त राई, नारायण बडाल, रोशन थापा मगर, मदन लिम्बू, समीर पाण्डे आकांक्षी हुन् । ‘दुवै पक्ष अध्यक्ष, उपाध्यक्ष र महासचिवसम्म प्यानल बनाउने तयारीमा छन्,’ क्रान्तिकारीका एक पदाधिकारीले भने । गत स्थायी समिति बैठकमा उपमहासचिव शर्माले लिखित मत राख्दै अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि सुरु भएको अन्तरसंघर्ष विद्यार्थी संगठनमा पनि देखिएको हो ।
अखिल क्रान्तिकारीको २०७४ भदौमा भएको २२औं राष्ट्रिय सम्मेलनमा विवाद भएका कारण हलबाट नेतृत्व चयन हुन सकेको थिएन । त्यसपछि पार्टी अध्यक्ष दाहालले पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरेका थिए । लामो विवादबीच दीपेश पुनलाई महासचिव बनाइएको थियो । २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलनमा माओवादी नेताहरू वर्षमान पुन र जनार्दन शर्मा पक्षधरबीच प्रतिस्पर्धा भएको थियो । पुनले रञ्जित तामाङ र शर्माले भाइ अनिललाई उम्मेदवार बनाएका थिए । त्यस सम्मेलनबाट तामाङ निर्वाचित भएका थिए । त्यो सम्मेलनबाटै दुई नेताबीच द्वन्द्व सुरु भएको थियो ।
पार्टीको २०७८ पुसमा भएको महाधिवेशनमा पुन र शर्मा दुवै महासचिवका दाबेदार थिए । तर दाहालले देव गुरुङलाई रोजे । त्यसपछि पुन र शर्माबीच मिलेर अघि बढ्ने सहमति भएको थियो । महाधिवेशनकै बेला दुवै नेताले ‘हामी दुईमध्ये एकलाई महासचिव बनाए आपत्ति छैन’ भने पनि दाहालले बेवास्ता गरेको उनीनिकट नेताले बताएका थिए । अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री भएपछि पुन संस्थापनतिर उभिएका छन् । तर गत स्थायी समिति बैठकमा पुनकी श्रीमती एवं पूर्व सभामुख ओनसरी घर्तीले सुन प्रकरणमा दाहाल नेतृत्वको सरकारले आफ्नो परिवारलाई मुछ्न खोजेको भन्दै आपत्ति जनाएकी थिइन् ।
दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित मत पार्टीमा राखेपछि शर्मा देशव्यापी रूपमा आफ्नो मतप्रचार गर्दै हिँडेका छन् । अर्का उपमहासचिव पुनले सरकारमा र बाहिर रहँदा दाहाललाई नजिकबाट सघाउँदै आएका छन् ।‘पुन र शर्माबीच सम्बन्ध धेरै राम्रो पनि छैन, बिग्रिएको पनि छैन,’ माओवादीका एक नेताले भने, ‘विद्यार्थीको नेतृत्व कसको पक्षमा जान्छ, त्यसले पनि यी दुई नेताबीच आगामी सम्बन्धबारे केही स्पष्ट पार्न सक्छ ।’ विद्यार्थी संगठनको नेतृत्वका लागि हुने चुनावमा संस्थापन पक्षलाई जिताउने गृहकार्यमा लाग्न उपमहासचिव पुनलाई दाहालले परिचालन गरेको कतिपय विद्यार्थी नेताको दाबी छ । ‘तर आफ्नो पक्षलाई जिताउन पुनभन्दा शर्मा बढी सक्रिय देखिएका छन्,’ एक विद्यार्थी नेताले भने ।
अखिल क्रान्तिकारीको बिहीबार सुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा २ हजार ३ सय प्रतिनिधि सहभागी छन् । केन्द्रीय समितिमा ३३ पदाधिकारी र २ सय ४३ केन्द्रीय सदस्य रहने व्यवस्था विधानमा छन् ।