काठमाडौं,अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् । काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।
१० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन् । उनीहरुको निःशुल्क उपचार भइरहेको छ । करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं–मुग्लिन सडकमा अकल्पनीय मानवीय क्षति, कमजोरी कसको ?
काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग काठमाडौं–मुग्लिङ आइतबार रातिमात्र बल्ल खुल्यो । अर्को मुख्य राजमार्ग बीपी भने अझै अवरुद्ध छ । काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा सवारीसाधन पुरिएको र त्यसमा फसेका यात्रु उद्धार गर्नुपर्दा यो सडक खण्डमा आइतबार अबेर राति मात्रै यातायात सञ्चालन गर्न सकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
‘यो पहिरो अन्य पहिरो जस्तो सामान्य तरिकाले हटाउन मिल्ने भएन, मानवीय उद्धार र खोजीलाई प्राथमिकता दिनुपरेका कारण सोही अनुसार काम गरियो,’ मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले भने । अर्कातर्फ, काठमाडौंको एक कान्लामुनि नै भएको ठूलो मानवीय क्षतिले सडक प्रयोगकर्ताको सचेतना र राज्य संयन्त्रको व्यवस्थापकीय पाटोमाथि थप प्रश्न खडा गरेको छ । मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिने राज्यको निर्णय गलत सावित भएको छ ।
नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म झ्याप्ले खोला पहिरोमा परी ३५ जनाको मृत्यु भइसकेको छ । भौतिक मन्त्रालयका प्रवक्ता ढकाल औपचारिक संयन्त्रका आह्वानलाई गम्भीर रूपमा नलिँदा यो राजमार्गमा ठूलो मानवीय क्षति भएको बताउँछन् । अर्कातर्फ, सरकारको चेतावनीबीच आफ्नो यात्राको योजनालाई दुई दिन पछाडि धकेल्ने चेष्टा नगरेका यात्रुको निर्णय समेत गलत सावित भएको छ ।
पूर्वाधारविद् किशोर थापा सडकमा ‘सेफ्टी फर्स्ट’ अवधारणा अभाव देखिएको बताउँछन् । जसभित्र दुर्घटनामात्र होइन, प्राकृतिक विपदबाट समेत बचेर यात्रा गर्नु हो । यस घटनाले यात्रुको अधैर्यता र राज्यको व्यवस्थापकीय कमजोरी दुवै उजागर भएको उनी बताउँछन् । ‘सडकमा पहिलो सचेतना यात्रु र चालक आफैंले अपनाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘दोस्रो जिम्मेवारी राज्यको हुन्छ, व्यवस्थापकीय चुस्तताको कमी यहाँ देखियो ।’ सडक विभागका अनुसार आइतबारसम्म देशभरि ४७ स्थानमा राजमार्ग अवरुद्ध छ । तर, सबैभन्दा धेरै मानवीय क्षति यही सडक खण्डमा भएको छ । एक त राजधानी भित्रिने सबैभन्दा व्यस्त सडक, त्यसमाथि अविरल वर्षाबीच रातको समयमा जोखिमपूर्ण स्थानमा लामबद्ध सवारीसाधन पहिरोको चपेटामा आएको देखिएको छ ।
रातको समयमा सवारीसाधनलाई सुरक्षित स्थानमै रोक्ने व्यवस्था गरेको भए यो तहको मानवीय क्षति नहुने थापा बताउँछन् । ‘यस्तो बेला सरकारले जति सक्दो कम क्षति न्यूनीकरण पहल गरी त्यसलाई व्यवहारमा देखाउनुपर्छ, यसमा कमजोरी भएको छ,’ उनले भने । झ्याप्ले खोलामा जुन स्थानमा पहिरो गएको छ, त्यस स्थान वरपर नागढुंगा सुरुङ आयोजना र सडक विस्तारको काम समेत जारी थियो । आयोजनाको कामले थिलथिलिएको जमिनमा लगातार वर्षाले पहिरो निम्त्याएको छ । सोहीकारण रातको समयमा वर्षा हुँदा सवारीसाधन रोक्न जोखिमपूर्ण हुने स्थानको पहिचान गरी सुरक्षित स्थानमा सवारी रोक्नुपर्ने उनी बताउँछन् ।
पहिरोका कारण यो सडक बन्द भएपछि सरकार, व्यवसायी र यात्रुले अर्को जोखिम उठाएका छन्, त्यो हो निर्माण पूरा नभएको सुरुङमार्गको प्रयोग । विज्ञहरू यो कामलाई अझ बढी जोखिम मान्छन् । ‘निर्माण नै सम्पन्न नभएको संरचनालाई निरन्तर प्रयोग गर्दा अर्को जोखिम निम्तिन सक्छ,’ एक पूर्वाधार विज्ञले भने, ‘सानो जोखिमबाट बच्न झन् ठूलो दुर्घटना निम्त्याउने काम गर्नु हुँदैन ।’