spot_img

विपदकाे माैकामा वायुसेवा कम्पनीकाे लुटतन्त्रःभाडादर झण्डै दाेब्बर,चाैंतर्फी विराेधपछि ३ दिन अधिकतम भाडा नलिने

spot_img

काठमाडौँ — विपद्का बेला महँगोमा हवाई टिकट बेचेको भन्दै सर्वत्र आलोचना भएपछि वायुसेवा कम्पनीहरूले तीन दिनलाई अपर लिमिट (अधिकतम मूल्य) मा टिकट बिक्री नगर्ने भएका छन् । सोमबारदेखि बुधबारसम्म तीन दिनलाई अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने भएका हुन् । तर यो तीन दिनका लागि अधिकांश उडानका सस्ता दरका टिकटहरू भने मोबाइल वालेटमा उपलब्ध छैनन् ।

खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि बन्द गरिएको आन्तरिक उडान शनिबार अपराह्नदेखि सुचारु भएको थियो । राजधानी जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन खडकखण्ड, बीपी राजमार्गलगायत अवरुद्ध भएपछि चाडपर्वमा घर फर्किनेलगायतका यात्रुहरूको चाप हवाई यातायाततर्फ देखिएको थियो ।

तर, वायुसेवा कम्पनीहरूले आफूखुसी भाडा वृद्धि गरेको पाइएको भन्दै नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । वायुसेवा कम्पनीहरूले भने विपद्को मौका छोपेर भाडा वृद्धि नगरेको दाबी गरेका छन् । कम्पनीहरूका अनुसार सुगम रुटमा दूरीअनुसार हवाई भाडालाई बढीमा ६ वटा प्रकार (क्लास) सम्ममा विभाजन गरेर बिक्री गर्ने गरिएको छ ।

वर्गीकरण गरिएका हवाई भाडामा दरअनुसार लैजान पाउने लगेजको तौल घटबढ, टिकट रद्द गर्न मिल्ने नमिल्ने, रद्द गर्दा लाग्ने दस्तुरहरू पनि समावेश गरिएको हुन्छ । सस्तो टिकट ‘रिफन्डेबल’ हुँदैन भने साथमा लैजान पाउने लगेजको परिणाम पनि थोरै हुने गरेको छ । महँगो टिकटमा मिति सार्न मिल्ने, साथमा लैजान पाउने लगेजको मात्रा सस्तो टिकटको दाँजोमा बढी हुनेलगायतका सुविधा वायुसेवा कम्पनीले दिने गर्छन् ।

सरकारले अस्वस्थ प्रतिस्पर्धा नहोस् भनेर अधिकतम (अपर फेअर) र न्यूनतम (लो फेअर) हवाई भाडा तोक्ने गरेको छ । यसको नियमन नागरिक उड्डयन प्राधिकरणले गर्छ । यो सुगम रुटमा मात्रै हो । दुर्गम उडानमा भने हवाई टिकटको दर एउटै हुन्छ । विदेशी यात्रुले भने ‘डलर फेअर’मा नेपालीको दाँजोमा झन्डै दोब्बर शुल्क तिर्नुपर्छ ।

हवाई यात्रुले सस्तो टिकट नपाएको गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वायुसेवा कम्पनीलाई सहुलियत मूल्यमा टिकट उपलब्ध गराउन अमेरिकाबाट अनुरोध गरेका छन् । प्रधानमन्त्रीको निर्देशनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित बैठक बोलाएका थिए । उक्त बैठकपछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडादरमा सोमबारदेखि तीन दिन टिकट नबेच्ने निर्णय गरेको छ ।

‘देशमा हालै भएको बाढीपहिरोको विपद्का कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम दरमा टिकट नबेच्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष मनोज कार्कीले भनेका छन् । उनले यात्रुलाई सस्तो दरमा हवाई टिकट उपलब्ध गराउन आयल निगमलाई परल मूल्यमा हवाई इन्धन उपलब्ध गराइदिन माग गरेका छन् ।

आन्तरिक उडानमध्ये ७० प्रतिशतभन्दा बढी उडान गर्ने बुद्ध एयरले राज्यले वायुसेवा कम्पनीलाई लिने शुल्कहरू मिनाहा गरे आपत्कालीन अवस्थामा न्यूनतम टिकट दरमा पनि यात्रुलाई टिकट बिक्री गर्न सकिने जनाएको छ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आइतबार साँझ कान्तिपुरसँग कुरा गर्दै सरकारले वायुसेवा कम्पनीलाई अनुरोध गरेमा विपद्को अवस्थामा सस्तो दरमा न्यूनतम भाडा लिई सेवा दिन सकिने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img