spot_img

सरकारी राहत उद्धार कोषमा सवा ३ अर्ब रकम तर पीडितकाे हातमा पुगेन राहत

spot_img

विपत्मा परेका नागरिकको सहयोगका लागि सरकारी राहत उद्धार कोषमा भएको रकममध्ये १.०२ प्रतिशत मात्रै पीडितले पाएका छन्, गृहमन्त्री रमेश लेखकले बाढीपहिरोको १० दिनपछि बल्ल पीडितको नाम पठाउन निर्देशन दिएका छन्
प्राकृतिक विपत्तिमा पर्दा राहत उपलब्ध गराउने उद्देश्यले खडा गरिएका सरकारका राहत उद्धार कोषमा सवा तीन अर्ब रुपैयाँ मौज्दात छ । तर, हालसालैको बाढी–पहिरोको विध्वंसमा परेका पीडितहरू भने राहत नपाएर बिचल्लीमा परेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमातहतको विपत् व्यवस्थापन कोष र बागमती प्रदेश सरकारअन्तर्गत प्रदेश विपत् व्यवस्थापन कोषमा तीन अर्ब ३३ करोड भए पनि हालसम्म १६७ मृतकका परिवारले मात्रै तीन करोड ३४ लाख रुपैयाँ राहत पाएका छन् ।

भौतिक संरचना क्षतिग्रस्त भएका परिवारको त विवरण नै तयार भएको छैन । आवास निर्माणका लागि भनेर ३३ जनालाई मात्रै पाँच लाख २५ हजार उपलब्ध गराएको तथ्यांक छ । ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोमा हालसम्म २४६ को मृत्यु भएको छ, १८ अझै बेपत्ता छन् । १७८ गम्भीर घाइते भएका छन् । हजारौँ परिवारको अर्बौँको भौतिक संरचना ध्वस्त भएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृृत अनिल पोखरेलले बाढी र पहिरोका पीडितलाई राहत दिन कोषमा भएको सबै रकम जिल्लास्थित जिल्ला विपत् व्यवस्थापन कोषमा पठाइसकिएको, तर ७९ मृतकका परिवारका सदस्य सम्पर्कमा नआएकाले राहत वितरण नभएको दाबी गरे । ‘बाढी र पहिरोमा परेर ज्यान गुमाएका २४६ जनामध्ये १६० मृतकका परिवारलाई राहत रकम उपलब्ध भइसकेको छ । बाँकी परिवारलाई भने विविध कारणले राहत दिन सकिएको छैन । सूचना प्राप्त भएअनुसार सम्बन्धित जिल्लाबाट मृतकका परिवारलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ । राहत वितरणको काम दु्रत गतिमा अघि बढेको सूचना जिल्लाबाट छ,’ उनले भने । मृतकका परिवारलाई जनही दुई लाखका दरले उपलब्ध गराउने सरकारी व्यवस्थाअनुसार राहत वितरण भएको हो ।

पछिल्लो बाढी र पहिरोले काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोक, मकवानपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, धादिङमा ठुलो क्षति पु¥याएको छ । गाउँका बस्ती पहिरोमा पुरिएका छन् । नदीकिनारका बस्ती बगरमा परिणत भएका छन् । बाढी र पहिरोले हालसम्म क्षति पु¥याएको घरको यकिन विवरण संकलन नभए पनि विस्थापित हुनेको संख्या लाखभन्दा बढी भएको प्राधिकरण स्रोतले बतायो ।

प्राधिकरणको तथ्यांकअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ५२ करोड ८३ लाख ३५ हजार ६०७ रुपैयाँ मौज्दात छ । त्यस्तै, प्राधिकरणअन्तर्गतको विपत् व्यवस्थापन कोषमा एक अर्ब ६२ करोड र प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा भएको छ । त्यसैगरी बागमती प्रदेश सरकारमातहतको विपत् व्यवस्थापन कोषमा चार करोड ४४ लाख मौज्दात छ । यसरी कुल रकम तीन अर्ब ३३ करोड कोषमा छ ।

पीडितका गुनासा– राज्यले केही दिएन

काभ्रेको बेथानचोक गाउँपालिका– ३ का जीवनाथ घिमिरेसँग सरकारलाई भन्न गुनासा मात्रै छन् । घर, बारी, सबै अन्नपात, कपडा स्वाहा भएको १० दिन बितिसक्दा पनि राज्यबाट अहिलेसम्म कुनै राहत नपाएको उनले बताए । ‘घरभित्र भेल पस्यो । भएको अन्नपात र लत्ताकपडा सबै भेलमै डुब्यो । पहिरोले खेतबारीसँगै पाकेका मकैलगायत सबै अन्न बगायो । केही नभएर विपत्मा परेको १० दिनसम्म पनि राज्यबाट केही राहत पाउन सकिएको छैन,’ उनले भने ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकरीले सडकको ट्र्याक खुलेको क्षेत्रमा राहत बाँडिएको र ट्रयाक नखुलेको क्षेत्रमा राहत बाँड्न बाँकी रहेको बताए । पालिकामा बाढीले नामोनिसाना नरहने गरी सडक बगाएको छ । उनले भने, ‘बेथानचोक– ४ पाटीखर्कसम्म सडकको ट्र्याक खुल्यो । त्यहाँसम्मका पीडितलाई राहत रकम वितरण भयो । तर, जहाँ सडकको ट्र्याक पुगेको छैन, त्यहाँ वितरण गर्न सकिएको छैन । अबको तीन दिनभित्र ढुङखर्कसम्म ट्र्याक खोलिसक्छौँ । त्यसलगत्तै राहत रकम वितरण सुरु हुन्छ ।’

११ र १२ असोजको बाढीपहिरोमा सबैभन्दा ठुलो क्षति काभ्रेमै भएको थियो । त्यसमा पनि बेथानचोक बढी प्रभावित बन्यो । बेथानचोक हुँदै पनौतीतर्फ बग्ने सलाङदुङ खोलाले पनौतीमा पनि उपद्रो मच्चायो । पनौती नगरपालिका– १० की ४० वर्षीया पवित्रा दर्जीले पहिरोमा घर गुमाइन् । सबै सामग्री पहिरोमा पुरिए । पूर्ण रूपमा विस्थापित उनी अहिले दाइको घरमा आश्रय लिइरहेकी छिन् । तर, आवास निर्माणका लागि राज्यमा कुनै राहत प्राप्त नभएको उनले बताइन् । ‘पहिरोले मेरो घर पुरियो । अन्नपात सबै पुरियो । बस्ने र खाने नै नभएपछि अहिले दाइको घरमा आएर बसेकी छु । दैनिक गुजाराका लागि होस् कि घर बनाउन होस्, कसैले पनि कुनै किसिमको राहत दिएका छैनन्,’ उनले भनिन् ।

पनौती– १० कै ३५ वर्षीया ज्ञानु दर्जीको घर पनि पहिरोमा प¥यो । घरसँगै घरका सबै सामग्री पहिरोमा पुरिए । पहिरोमै बेपत्ता उनकी देउरानीको शव अझै फेला परेको छैन । ‘न बेपत्ता देउरानीको शव खोज्न कसैले पहल गरेको छ, न कुनै राहत सामग्री नै पाउन सकेका छौँ,’ उनको गुनासो छ ।

ललितपुरको कोन्ज्योसोम, महाँकाल र बागमती गाउँपालिकामा पनि स्थानीयले पर्याप्त मात्रमा राहत पाउन सकेका छैनन् । कोन्ज्योसोम– ४ नल्लुका प्रेमबहादुर डिमडुङको घर पहिरोले पुरिएपछि सिंगो परिवार चापागाउँ आएर बसेको छ । तर, आर्थिक राहत पाउन सकेका छैनन् । ‘आइतबारदेखि छोराबुहारीसँग चापागाउँ गएर बसेको छु । पुरिएको घरभित्र केही भेटिन्छ कि भनेर खोज्न आएको हुँ । तर, हालसम्म केही भेट्टाउन सकिनँ । सबै पहिरोले पुरिएछ । हालसम्म राहत पनि केही पाउन सकिएको छैन,’ उनले भने ।

जाजरकोटका भूकम्पपीडितको घर अझै बनेन
१७ कात्तिक ०८० मा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा १५७ को मृत्यु भयो । एक लाखभन्दा धेरै स्थानीय प्रभावित बने । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्पबाट जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, बाजुरा र बझाङ धेरै प्रभावित भए । अध्ययनपछि उक्त जिल्लामा करिब ८५ हजार लाभग्राही कायम गरिए । तर, उनीहरूको घर अझै बन्न सकेको छैन । तर, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भूकम्पका लाभग्राहीलाई पहिलो किस्ताबापत कुल एक अर्ब एक करोड वितरण भएको र दोस्रो किस्ताबापत २५ करोड वितरण भएको बताए । यो रकम स्थायी नभई अस्थायी संरचना बनाउने प्रयोजनका लागि हो । प्रतिपरिवार पहिलो र दोस्रो किस्तामा २५–२५ हजार दिने व्यवस्था गरिएको छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img