काठमाडौं,पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्किएको छ । धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको काठमाडौं महानगरपालिकाले बुधबार विहान नगर प्रहरीले पठाएर भवन खाली गर्न माइकिङ गरेको थियो। लगतै वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली पनि पुगेको थियो ।
मारवाडी सेवा समितिका सदस्यहरुले भने विरोध गरे । भवन खाली लगाउन लिखित पत्र दिनुपर्ने, नेपाल प्रहरी आउनुपर्ने भन्दै अवरोध गरे । त्यसका बाबजुद महानगरले धर्मशालामा आफ्नो बोर्ड राख्यो। तर नेपाल प्रहरीको टोली पुगेर महानगरको टोलीले फर्काएको छ । ‘हामी (नगर प्रहरी) ले धर्मशाला व्यवस्थापनको काम गर्न खोजेको थियौं,’ महानगर प्रहरीका एक अधिकृतले भने, ‘प्रहरीले प्रशासनको आदेश छ भन्दै हामीलाई धर्मशालाबाट हट्नुस् भनेपछि हामी यहाँबाट फर्किएका हौं ।’
बालेनको आरोप ः प्रहरीले महानगरलाई हस्तक्षेप गरेर मारवाडी सेवा समितिलाई संरक्षण ग¥यो
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले आफूहरूलाई सहयोग नगरेको आरोप लगाएका छन् । नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको आरोप लगाएका हुन् ।
‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौँदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ । अनि कोषले महानगरलाई धर्मशाला असक्तहरूलाई निःशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ’, शाहले बुधबार फेसबुकमा लेखका छन् ।
मंगलबार काठमाडौँ महानगरपालिका र कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ । तर, बुधबार धर्मशाला खाली गराउन पुग्दा समितिका पदाधिकारीहरूले विरोध गरेका थिए भने बालेनले प्रहरीले पनि उनीहरूलाई नै साथ दिएको आरोप लगाएका हुन् ।