प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल ‘जी न्युज’ र सोही कम्पनीको अर्को अंग्रेजी च्यानल ‘डब्ल्युआइओएन’ अर्थात् ‘वर्ल्ड इज वन न्यूज’लाई एकैसाथ सरकारी निवास बालुवाटारमा बोलाएर अन्तरवार्ता दिए ।सोमवार दुवै च्यानलबाट अन्तरवार्ता प्रसारण भएपछि त्यसलाई लिएर विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । एउटा देशको प्रधानमन्त्रीले विदेशी मिडियालाई अन्तरवार्ता दिनु आफैमा टिप्पणीको विषय वा आपत्तिको विषय होइन । तर केही साता अघि आफूलाई व्यक्तिगत रुपमा कटु आलोचनाको सिकार बनाएको तथा यस क्रममा व्यक्तिगत चरित्रसँग जोडेरसमेत आपत्तिजनक भाषा र शब्द प्रयोग गरेकै च्यानललाई प्रधानमन्त्रीले अन्तरवार्ताका लागि किन योग्य ठाने भन्नेबारे आमजनता अनभिज्ञ छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र अन्तरद्वन्द्व बढेको समयमा बालुवाटारमा चिनियाँ राजदूतको दौडधुपलाई लिएर ‘जी न्यूज’ले तयार पारेको एउटा सामग्री पत्रकारिताको सामान्य धर्म र सिद्धान्तभन्दा निकै बाहिरको रहेको भन्दै चर्को आलोचना भएकोमात्र होइन, उक्त च्यानलको प्रशारण बन्द गर्न मागसमेत उठेको थियो । तर यतिबेला नेकपाको एउटा पक्षको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सोही च्यानललाई बालुवाटारमा बोलाएर अन्तरवार्ता दिनु तर विगतमा आफूलाई जोडेर गरिएका टिप्पणीप्रति प्रतिक्रियाका एक शब्द खर्च गर्न नसक्नु अनौठो मानिएको छ ।
राष्ट्रवादी छवि देखाउने कसरत ?त्यसो त, कुनै उद्देश्यविना भारतीय च्यानल ‘जी न्यूज’को टिम प्रधानमन्त्री ओलीको अन्तरवार्ताका लागि दिल्लीदेखि काठमाडौंसम्म धाएको होला भनेर कसैले पनि विश्वास गर्न सक्दैन । संसद विघटन गरेर देशभित्र आलोचित भएका प्रधानमन्त्री ओलीले फेरि एक पटक ‘एन्टी इन्डियन सेन्टिमेन्ट’ समेटेर आफूलाई राष्ट्रवादी देखाउने प्रयासस्वरुप नै भारतीय च्यानललाई अन्तरवार्ताका लागि बोलाएका हुन् भनेर धेरैले टिप्पणी गरिरहेका छन् । तर केही साता अघिसम्म ओलीको आलोचना गरेको उक्त च्यानलले अहिले ओलीलाई नै राष्ट्रवादको जामा लगाउन आफूलाई समर्पित गर्नुको पछाडिको रहस्य भने खुल्न बाँकी नै छ ।
प्रधानमन्त्री ओलीले यसअघि पनि राष्ट्रवादी नारा दिएरै चुनाव जितेका थिए । नाकाबन्दीदेखि लिएर सीमा विवाद जस्ता विषयलाई मुख्य रुपमा उठाएर राष्ट्रवादी छवि बनाएका ओलीले आफ्नै पार्टीको बहुमत रहेको अवस्थामा दलभित्रको शक्ति संघर्ष व्यवस्थापन गर्न नसकी प्रतिनिधिसभा विघटन गरेपछि देशभित्र व्यापक आलोचना झेल्दै आएको अवस्थामा फेरि एक पटक राष्ट्रवादी छवि बनाउनका लागि भारतीय मिडियाको सहारा लिएको जानकारहरुको भनाइ छ ।
‘जी न्यूज’को नजरमा कस्ता थिए ओली ?‘जी न्यूज’का पछिल्ला रिपोर्टहरु हेर्दा नेपाल तथा प्रधानमन्त्री ओलीप्रति उक्त मिडिया कहिल्यै सकारात्मक देखिएको छैन । ‘जी न्युज’ले जहिले पनि नेपाललाई कमजोर देखाएर रिपोर्टहरु बनाएको पाइन्छ । नेपाललाई कमजोर देखाउने वा प्रधानमन्त्री ओलीको आलोचना गर्ने क्रममा सो च्यानलले तथ्यहरुलाई नराम्रोसँग बंग्याउने र पत्रकारिताको धर्मविपरीत सामग्री तयार पार्ने धृष्टतासमेत गरेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण प्रधानमन्त्री ओलीको आलोचना गर्ने क्रममा उसले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर बनाएको रिपोर्टलाई लिन सकिन्छ । ‘ओलीका इश्किया’ नाम दिइएको सो रिपोर्टमा जी न्युजले प्रधानमन्त्री ओली र यान्छीबीचको काल्पनिक प्रेम कहानीलाई प्रस्तुत गरेको थियो, जो पत्रकारिताको धर्मभित्र पर्दैन ।
‘जी न्युज’ले बनाएको सो रिपोर्ट प्रशारण भएपछि परराष्ट्र मन्त्रालयले समेत त्यसमा आपत्ति जनाएको थियो । भारतीय दूतावासमार्फत मन्त्रालयले सो रिपोर्टप्रति आपत्ति जनाएको थियो । जी न्युजसहित केही भारतीय च्यानलले प्रधानमन्त्री ओलीको बारेमा अनर्गल प्रचार गर्न थालेपछि नेपालले त्यस्ता केही भारतीय न्यूज च्यानललाई बन्द गराएको थियो ।
त्यतिमात्र होइन, ‘प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिएका जी न्युज’का प्रधान सम्पादक सुधिर चौधरीले नेपालको बारेमा एउटा नराम्रो टिप्पणी पनि गरेका थिए । त्यसपछि जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीले आफ्नो ट्वीटरमा ‘नेपाल ने भारत के न्युज चैनल्स को ब्लक कर दिया है । ये देश तो भारत के न्युज एंकर से ही डर गया, सेना की तो नौबत ही नही आयी’ अर्थात् नेपालले भारतको न्युज च्यानल ब्लक गरेको छ । यो देश त भारतको न्युज एंकरसँग नै डरायो, सेना आवश्यक नै परेन भनेर लेखेका थिए । जुन व्यक्तिले नेपाललाई भारतीय सेनाको धम्की दिए, त्यही व्यक्तिलाई आफ्नो सरकारी निवासमा बोलाएर प्रधानमन्त्री ओलीले अन्तरवार्ता दिनुको कारणबारे नेपाली जनता बेखबर नै छन् ।