काठमाडौं,आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११ः३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।
त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । उदाहरणका लागि अष्ट्रेलियामा दशैंको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टुबर (असोज २७ गते) परेको छ ।
‘टीका–जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’
‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।